व्यंग्यकथा–हिन्दी
काठमाडौं ।
वासु शशी स्मृति परिषद्ले साहित्यकार हिरण्यकुमारी पाठक, कथाकार मधुवन पौडेल र सर्जक डा. बद्री पोखरेललाई सम्मान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले तीनै सर्जकलाई सम्मान गर्ने निर्णय गरेको हो। परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीका अनुसार आगामी असोज २७ गते विशेष कार्यक्रम आयोजना गरी सम्मान समर्पण गरिनेछ ।
विगत पाँच दशकदेखि साहित्य सिर्जनामा सक्रिय हिरण्यकुमारी पाठकका मोहचक्र, शून्यवत्, दूरस्वप्न, अग्निदह, अव्यक्त, सम्बन्धको चुकुल, धूर्त स्याल र घमण्डी बाघ लगायतका कृति प्रकाशित छन्। उनका कथाकृति, कविताकृति, बालसाहित्य तथा जीवनी प्रकाशित छन्। पाठकले नारीस्वर साहित्यिक पत्रिकाको सम्पादन गर्नुका साथै सम्झनामा राममान तृषित ग्रन्थको सम्पादनसमेत गरेकी छन् ।
यसैगरी कथाकार मधुवन पौडेल तीसको दशकदेखि नेपाली आख्यानमा सक्रिय सर्जक हुन्। उनका बाँच्नुको विवशता, नलिनी भाउजु, म र मेरो परिवेश, चपाएको दन्त्यकथा, अवतरण र अरू कथाहरू, आफ्नै अतीत दोहोरिए जस्तो, अन्त्यहीन परिवेश र फाजिल जिन्दगी लगायतका कथासङ्ग्रह प्रकाशित छन्। एउटी वेश्याको आत्मकथा लघु उपन्यास तथा ब्रिटिशकालीन भारतको इतिहास गैरसाहित्यिक कृतिसमेत उनका प्रकाशित कृतिमा छन्। पौडेल यात्रा–निबन्ध तथा समसामयिक विषयमा लेखन गर्दै आएका छन् ।
सर्जक डा. बद्री पोखरेल नेपाली भाषा–साहित्यका साथै अर्थशास्त्र, लैङ्गिक समानता, सशक्तीकरण तथा समावेशी विकासका विषयमा अनुसन्धानमूलक लेखन गर्दै आएका छन् । उनका मभित्र अर्कै छ कवितासङ्ग्रह, दश पोका भित्रका पन्ध्र अञ्जुली यात्रा–निबन्धसङ्ग्रह, मेची–काली निबन्धसङ्ग्रह र अर्को यात्रा अन्टार्कटिका अनुभवात्मक पुस्तक प्रकाशित छन् । त्यस्तै व्यवस्थापनका पाँच आयाम, नेपालमा सम्पत्ति कर: Land Revenue Administration of Nepal, Fiscal Policy Nepal, अर्थशास्त्र शब्दकोश तथा संस्कृतबाट अङ्ग्रेजीमा अनूदित शिव महापुराण पनि उनका कृतिमा पर्छन् । उनका शब्द तथा सिर्जनामा आधारित आरोग्य गीति एल्बमसमेत प्रकाशित छ ।
परिषद्ले नेपाली साहित्यमा लामो समयदेखि योगदान पु¥याउँदै आएका तीनै सर्जकको सिर्जनात्मक योगदानको कदरस्वरूप सम्मान गर्न लागेको जनाएको छ ।
