काठमाडौँ, जेठ १५
राष्ट्रिय महिला आयोगको सभाकक्षमा भूगोल साहित्य समाजले संयुक्त रुपमा पुस्तकहरुको विमोचन सम्पन्न गरेको छ । ओम आचार्य, किसन पौडेल, खगेन्द्र बस्याल, टंक पन्थ, जयनाराण नेपाल, मुरारीराज मिश्र, एलपी पराजुली, विनोद नेपाल र हृदय लेकालीको संयुक्त छेस्का कवितासङ्ग्रह ‘अभिव्यञ्जना’, ओम आचार्यको कवितासङ्ग्रह ‘फूलको हार्दिकता ‘ र एलपी पराजुली रम्वास ‘काव्य सुधा’ र छेस्का सङ्ग्रह ‘छनक’को विनोद नेपाल, प्राज्ञ देवी नेपाल, रा. बा. बैङ्कका प्रमुख का.अ. किरणकुमार श्रेष्ठ लगायतका अतिथिले संयुक्त रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य साहित्यकार डा. देवी नेपाल रहेका थिए । गुणात्मक मूल्यका दृष्टिले कार्यक्रम उच्च प्रकृतिको रहेको विचार व्यक्त गर्नुभयो उनको भनाई थियो । कार्यक्रममा दार्जिलिङका साहित्यकारहरूको उपस्थितिले कार्यक्रम अन्तर्राष्ट्रिय बन्नपुग्यो भन्ने धारणा उनको थियो । मितव्ययीता, खिरिलो प्रस्तुति अनि विद्युतीय झड्का प्रवाहित गर्नु नै छेस्काको खास प्रकृति रहेको मान्यता उनको थियो ।
अहिले नयाँ उपविधाको प्रवर्तनको होड चलेको छ तर प्रवर्तकहरूमा मात्र विधा सीमित भएमा विडम्बनापूर्ण हुन्छ यस तर्फ ध्यान दिन सर्जकहरूलाई सुझाव समेत दिएका थिए । कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कारर्कारी अधिकृत किरणकुमार श्रेष्ठ थिए । भारतको दार्जिलिङबाट आएका साहित्यकार द्वयप्राध्यापक तेजमान बराइली र डा. शुकराज दियालीले नेपालीभाषा र माटो प्रतिको गौरवलाई प्रकाश पारे ।
भारतीय नेपालीहरूको पैत्रिकभूमि र तीर्थस्थलका रूपमा नेपाल रहेको विचारसमेत उनीहरुको थियो । ’अभिव्यञ्जना’माथिको समीक्षात्मक टिप्पणी प्रमुख अतिथि प्राज्ञ डा. देवी नेपालले गरे । यसैगरी ’काव्य सुधा’ (रम्बाससङ्ग्रह) माथि टिप्पणी गर्ने काम समालोचक दीपक सुवेदीको रह्यो । ’फूलको हार्दिकता’ (कवितासङ्ग्रह) र ’छनक’ (छेस्का कवितासङ्ग्रह) माथिको समीक्षात्मक टिप्पणी गर्ने काम टङ्क पन्थबाट भयो । यसैगरी कृतिकार ओम आचार्य र एल.पी. पराजुलीले लेखकीय मन्तव्य राख्नुका साथै कृतिभित्रका रचना पनि वाचन गरेका थिए ।
कार्यक्रममा कर्णाद महर्षि, बमबहादुर थापा जिँताली, दिव्य गिरी, देविका तिमिल्सिना, गोविन्द घिमिरे ’वेदमणि’, प्रतीक ढकाल, धनवन्तरी मिश्र (कात्यायन), छायादत्त न्यौपाने ’बगर’, खेमराज पोखरेल, ममता मृदुल, प्रकाश घायल, दीपक लोहनी, वासुदेव गुरागाईँ, रञ्जना निरौला, राजेन्द्र आचार्य लगायतका वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो । एक सय पच्चीसभन्दा बढी सहभागीहरू उपस्थित रहेको कार्यक्रम वास्तवमै भव्य र सभ्य रूपमा सम्पन्न भयो । कार्यक्रम भूगोल साहित्य समाजका अध्यक्ष तथा छेस्का कविताका प्रवर्तक विनोद नेपालको अध्यक्षतामा भएको हो । भूगोल साहित्य समाजका सचिव शैलेन्द्रकुमार शाहले कार्यक्रमको सञ्चालन र उपाध्यक्ष दिनेश विक्रम थापाले अतिथि लगायत सम्पूर्णलाई स्वागत गरेका थिए ।