• २०८१ माघ २ बुधबार

उन्माद

 माया गुरुङ

माया गुरुङ

कहिले चाहिन
तिम्रो दम्भको दौड
यसरी बेलगाम कुदोस्
कहिले चाहिन
तिम्रा कुरुप अनुहारहरू
चौतारोमा खुलेआम देखियोस्
तिमी मान या नमान
जे सुकै ठान तर
तिम्रो दम्भ र आसत्ति स्वभावको
वेपर्दा भएको छ,
तिम्रै शक्ति र दम्भ आज
तिम्रो घात प्रतिघात काट्ने
बलियो कर्दा भएको छ ।
धोकै धोकाको जगबाट
निस्केर एक अर्कालाई
जलपले टलक्क टल्काएर
चिल्ला, उज्याला, आकर्षक
बिल्ला झलक्क झल्काएर
समूह नै मिली
कसरत त धेरै गऱ्यौ,
समयको मुखमा ताला लगाउन
अभ्यास पनि धेरै गऱ्यौ ।
तर तिम्रो फोहोरी खेलको
हसरत, विध्वंस भएको छ
त्यसैले त आज तिमी
जगतको नजरमा
साधु चोर बनेका छौ
तिम्रो जमातको ईशारामा
हो, सबै मौन छन्
तर ती सबै मौनता नै
घनघोर शोर बनेको छ
म चुपचाप थिएँ र छु
तर देखिरहेछु
कैंयौं चोरी औँलाहरू
तिमीतिर नै तेर्सिईरहेका छन्
तिमीलाई देखाउँदै उठिरहेका छन्
र मेरा नजरहरु झुकीरहेका छन्
मेरा समता ममताका आँतहरू
भित्रभित्रै सुकीरहेका छन्
नजरहरू झुकीरहेका छन् ‘।


माया गुरुङ
वेलायत, वेलिङ