• २०८१ श्रावाण ११ शुक्रबार

अप्रतिम क्षण

बसन्त चौधरी

बसन्त चौधरी

भोक रोटीको होस् वा मिलनको,
भोक केवल भोक हुन्छ
रोटी !
सुन्दर अनि स्वादिष्ट पनि
अथवा
जस्तो होस् रोटी
मेटिदिन्छ त्यसले भोक
त्यो भेटिन्छ कसरी कुन्नि
मेहनतले या भाग्यले !

मिलनको भोक !
ओह !
कहिल्यै मेटिँदैन,
हर क्षण बढिरहन्छ
बलिरहन्छ
ठीक सुनेको हो यो,
सही सुनेको हो !
दुई प्रेमीहरूको होइन
आत्मा !
दुई आत्माको मिलनको

कहिलेकाहीँ होइन धेरैजसो
तिर्खाइरहन्छन्
मिलनका लागि
विवश छन्
चलनका लागि
अल्झिएर परिस्थितिहरूमा
सदा अतृप्त हुन्छन् मायालुहरू

भोकोले रोटी पाओस्
र प्रेमले मिलनको अतृप्तिमा
साँच्चै पायो भने तृप्ति
कस्तो हुँदो हो स्वप्न हाम्रो ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)