• २०८१ श्रावाण ११ शुक्रबार

किशोर पहाडी

राजेन्द्र शलभ

राजेन्द्र शलभ

मङ्सिर ४ गते फर्पिङमा जन्मिएँ
विजय ममोरियलमा एकैचोटि
दुई क्लासमा भर्ना भएकोे हुँ
त्यहाँ सुकुलमा बसेर पढाइ हुन्थ्यो
त्योभन्दा पहिले घरमै पढियो
छ क्लाससम्म त्यहाँ पढेपछि
म वीरगञ्ज पुगेँ
बुवाको जागिर त्यहीँ  थियो
स्वास्थ्यसेवा विभाग बुवाको अफिस
त्रिजुद्ध बहुउद्देश्य विद्यालयमा सातमा भर्ना भएँ
दुई वर्ष त्यहाँ पढिसकेपछि बुवाले मलाई
फर्पिङ बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभो
तर त्यहाँ नौ मा नभएर आठ क्लासमै राखिएँ
पहिले सात क्लासमा भर्ना हुनासाथ
काकाले काठमाडौँ ल्याएर छोडेकोले एकवर्ष
र पछि फर्पिङमा फेरि आठमै भर्ना हुनुपर्दा
मेरो दुई वर्ष त्यसै खेर गयो
यसरी २९ सालमा एसएलसी पास भएँ
त्यसपछि खै जानेर हो कि नजानेर
इन्जिनियरिङ पढेँ, सिभिल इन्जिनियर
पढाइ इन्जिनियरिङ, रूचि भने साहित्य ।

बाहिर पढ्न जान पाइन्छ भनेर
रूसी भाषा पनि सिकेँ, तर पाइएन
र मैले हवाईविभागमा जागिर खान थालेँ
त्यसको केही महिनापछि नै
खानेपानीमा जागिर सुरु गरेँ
र त्यहाँ मैले दस वर्ष बिताएँ ।
अफिस गर्दैगर्दा नै मेरो ३२ सालमा बिहे भो
त्यसपछि छोरा भो
तलब भने त्यही तीन/चार सय मात्र
त्यत्ति मात्र पैसाले छोरालाई पाल्न गार्हो छ
त्यसलाई राम्रो शिक्षा दिनका लागि
केही थप गर्नुपर्छ भन्ने लाग्यो
एकमनले ट्याक्सी चलाउन तयार भएँ
तर पछि फेरि पसल गर्छु भन्ने सोचेर
पुल्चोकमा फुपूको घरमा ‘कोल्ड स्टोर’ राखेँ
जम्मा २० हजार सापट लिएर
पसल राम्रो चल्यो, जीवन सहज भयो
पछि मेरो एक्सिडेन्ट भएर
केही दिन पसल बन्द गर्नुपर्ने भयो
त्यो बीचमा भिडियोको बजार बढेको थियो
र मैले मेरो कोल्ड स्टोरलाई भिडियो पार्लर बनाएँ
भिडियो क्यासेट भाडामा दिने
त्यो काम पनि राम्रै चल्यो तर बिस्तारै
भिडियो क्यासेटको बजार सुक्दै गयो
साथै पसलको व्यापार पनि सुक्यो र बन्द भयो ।

लेख्न त म स्कुलदेखि नै लेख्थेँ
नयाँ सन्देशमा २८ सालमै छापिन्थे
तर त्यसलाई म आफ्नो साहित्यिक सुरुवात मान्दिनँ
रूपरेखामा छापिएपछि मात्र वास्तविक सुरुवात भो
स्कुलमा लेख्थेँ, प्रतियोगितामा पहिलो भएँ
प्रोत्साहन पाएँ र अनवरत लेख्दै गएँ
विभिन्न साहित्यिक किताबमा रूचि बढ्दै गयो ।

मेरो पहिलो किताब निस्किनुमा विजय वजिमयको हात छ
विजयसँग मेरो पत्र- मित्रता थियो
धेरै पछि ऊ काठमाडौं आएको बेला भेट भयो
र ऊ आउँदा उसको गाडीमा हामी कता-कता घुम्थ्यौँ
यही क्रममा एकफेर साझा प्रकाशन पुग्यौँ
त्यत्तिवेला क्षेत्रप्रताप अधिकारी अध्यक्ष थिए
विजयले मलाई चिनायो- “उहाँ कथाकार ।”
त्यसपछि क्षेत्रप्रतापले मलाई ‘ल तपाईंका कथा लिएर आउनू
म किताब निकालिदिन्छु’ भन्नु भो
नभन्दै मैले दिएको केही महिनामै
‘घर खण्डहर’ भन्ने मेरो कथासङ्ग्रह साझाले छाप्यो
म त छक्क परेँ- नयाँलाई उहाँले प्रोत्साहित गरेको
यो प्रोत्साहनले मलाई थप हौसला दियो ।
त्यही वर्ष ‘बाँच्नु र बाँचेकाहरू’ निकालियो
त्यसपछि ‘विसुदाइ’ साझाबाटै छापियो
र ०४५ सालको साझा पुरस्कार पनि पायो
‘सर्वज्ञ र सेक्स’, ‘मुग्ध सिम्फोनी’
अनि ‘रोजा कथाहरू’ त्यसपछि प्रकाशित भए ।
कथाका किताबबाहेक मेरो कवितासङ्ग्रह
‘शहरमा बत्ती निभेको वेला’ एकेडेमीले छाप्यो
त्यसबाहेक अनुवादसमेत गरेर १३/१४ वटा किताब छन्
म वास्तवमा कविभन्दा कथाकार हुँ ।

नाटकमा लाग्नुको कथा भन्ने हो भने
अशेष मल्ल काठमाडौँ आयो
‘तुँवालोले ढाकेको बस्ती’ भन्ने नाटक लिएर
त्यही क्रममा चिनजान भयो
र मसमेत हामीले ‘सर्वनाम’ स्थापना गरेका हौँ
त्यतिवेला विष्णुविभु, गोविन्द सिंह, रामकृष्ण
हामी धेरैजना साथीहरू थियौँ अशेषसँग
तर अहिले आएर इतिहास हराएको छ ।
जे होस् नाटकमा लगियो-
पहिलो नाटक ‘सडकदेखि सडकसम्म’ खेलियो
पहिलो सडकनाटक ‘हामी वसन्त खोजिरहेछौँ’ देखि
‘अतिरिक्त आकाश’ सम्म ३०/४० वटा नाटक गरियो
अतिरिक्त आकाशको कैदीले अझै झस्काउँछ
र फेरि नाटक गरूँ- गरूँ लाग्छ ।

शब्दपथ चलाइराखेको छु
पहिले सौरभ भनेर साहित्यका कुरा गर्थे
त्यसपछि ‘पेन लभर्स इन नेपाल’
अनि ‘शब्दपथ’ भयो
यसले दिनको २/३ घन्टा खान्छ ।
कति काम गर्न सकिएन होला
सकेको जति मात्र गर्ने हो
पारिवारिक वा साहित्यिक क्षेत्रमा
जति गरेपनि कम नै हुन्छ
मनको कुरा भन्ने हो भने
अब उपन्यास लेख्ने मन छ ।
बस् !


राजेन्द्र शलभ
[email protected]