• २०८१ फागुन ६ मङ्गलबार

डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’मा मनोजबाबु पन्त प्रथम

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२ खरी कथा लेखन प्रतियोगिता–२०८०’मा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको घोषणा भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज एउटा समारोहमा प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः रु एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे।

‘१२खरी कथा लेखन प्रतियोगिता–२०८०’मा तृतीय हुने कथाकार विजय हितानको उपन्यास लाहुरेको रेलिमाई ले हालै मात्र अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७९ नामको अर्को पुरस्कार पनि प्राप्त गरेको चर्चा साहित्यकारहरूमाझ तातो रहेको छ ।

प्राप्त ८ सय ४३ कथाहरूमध्ये तीन जना पुरस्कृतसहित २५ जना उत्कृष्ट कथाहरूलाई छानिएको थियो । ती उत्कृष्ट कथाका कथाकारहरू अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामामध्येबाट मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितान पुरस्कृत भएका हुन् ।

कार्यक्रममा उत्कृष्ट छानिएका २५ कथाहरूको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा २०८०’ पनि लोकार्पण गरिएको थियो । त्यस कथासङ्ग्रहभित्र ती २५ कथाहरूका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा। राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।