• २०८१ माघ ११ शुक्रबार

मिलन बोहोराका दुई रम्बास कविता

मिलन बोहोरा

मिलन बोहोरा

१. अलिनु


खल्लो
यो दशैँ ।
छैन टीको,
छैन जमरा,
छैन रमाइलो ।
अस्पर्श छ ममता,
पितृत्व छ अनुमेय
खोज्छु आशिकका अछेता,
सम्झिन्छु बाफिला दिनहरू ।
बिना प्रतिमाको मन्दिर,
बिना आराधना पूजा,
बिना घामका दिन,
अलिनु आनन्द ।
सहानुभूति,
सम्वेदना,
मात्रै छ ।
बिझ्छ
यो ।

२. लालित्य

खै
कता
बिलायो
प्रकृतिको
रम्य लालित्य ?
डडेलो लागेछ
निकुञ्ज वाटिकामा ।
लुप्त छ हरित् गलैँचा ।
धुलाम्बे छ दिव्य सुषमा ।
क्षयरोगी छ पृथ्वीको हाल ।
कुरूप मनका मान्छेले
निर्वस्त्र पारे सौन्दर्य ।
दुमोमात्रै बाकी छ
रूपको लालित्य ।
हे क्रुर मान्छे !
तेरो लोभ
विध्वंसी
बन्यो
है ।


मिलन बोहोरा, विश्वनाथ, असम, भारत
[email protected]