• २०८३ आश्विन ५, सोमबार

भैरव पुरस्कार आर.सी. रिजाललाई, वाङ्मय पुरस्कार टेकवीर मुखियालाई

काठमाडौं ।

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन प्रतिष्ठित पुरस्कारका प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । गुठीका उपाध्यक्ष एवं साहित्यकार गोपालप्रसाद बरालको अध्यक्षतामा बिहीबार राजधानीमा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । गुठीका अनुसार २०८३ सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाललाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिनेछ । ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार भने देवीप्रसाद चापागाईंलाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ । पुरस्कार अर्पण समारोह असोज १८ गते आइतबार भैरव स्मृति भवनमा आयोजना गरिने गुठीले जानकारी दिएको छ । पुरस्कार प्राप्तकर्ताहरूको छनोटका लागि गुठीले साहित्यकार विमल अर्यालको संयोजकत्वमा गुठीका सचिव वसन्त रिजाल र साहित्यकार प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो ।