• २०८१ कातिर्क ३० शुक्रबार

आफर

कैलाशकुमार पाण्डेय

कैलाशकुमार पाण्डेय

आफर कोइला खरानी
खलात फुक्दा धुस्रो मैलो
आफर मात्र होइन
यो त भगवान विश्वकर्माको मन्दिर हो
जहाँ निरन्तर
गोल बालेर भूदेव
अग्नि आह्वान गरिन्छ
पञ्चभू संस्कार गरेर
पावकाग्नि स्थापित गरिन्छ
पञ्चोपचार पूजासँगै
देदिप्यमान देखिन्छन्
आत्मैदेखि मानसपूजा हुन्छ
निराकारलाई आकार दिइन्छ
जहाँ निरन्तर फलाम पिटिन्छ
कुटा, कोदालो, हातहतियार मात्र होइन
भगवान पनि बनाइन्छन्

कल्पिता विश्वकर्मणा
भनेर विश्वकर्माको कल्पनाअनुरूपका
निर्माण गरिन्छन्
परिश्रम र पसिना अछुत हुँदैन
आफर अछुत छैन
आफरसँंगै बसेको
मानिस मात्रको के दोष ?
आफर
एउटा सभ्यताको प्रतीक हो
ढुङ्गेयुगबाट परिस्कृत युगमा पुग्दाको
प्रमुख कुटीर उद्योग हो
सामाजिक संरचनाको आधार स्तम्भ हो
कल, कारखाना र उद्योग पनि हो
हरेक निर्माणको जग हो ।

आफरसंँगै विशिष्ट संस्कृति पनि छ
निर्माण गरिने सामग्रीमा पाइन् हालिन्छ
पाइन् चढाउने सूत्र, विधि, भेद
अरूलाई थाह छैन
थाह भए पनि प्रयोगको अधिकार छैन
स्वाहाको मन्त्रजस्तै छ
आहुति योग्य छ, पवित्र छ
आफरको अँगार फुस्रो कालो होइन
अग्निकुण्डको भष्म, तिलक हो
अपवित्र पवित्रो वा भन्दै
जल छर्केर पवित्र गरेजस्तै
तातो रातो फलाम पानीमा राखी
पाइन् हालेर शुद्ध पारिन्छ
खलात फुकिन्छ
त्यो कसरी अछुत हुन सक्छ ?

यो आफर आफर मात्र होइन
विश्वकर्माको मन्दिर पनि हो
सबैका लागि पुजनीय छ
हामीले ग्रहण गर्ने अन्न फलाउने
कुटो, कोदालो बन्छ
जीवन निर्वाहको खाना पकाउने
भाँडाकुडा यही बन्छन्
समर जित्ने तरबार बन्छ
हामीले पुज्ने देवीदेवता पनि बन्दछन्
आयुध, अस्त्र, सुरुवा अगस्तताली
त्रिशूल ,घण्टी, भोक्कर, बिगुल यही बन्दछ

भगवान बन्ने स्थान कहीँ अछुत हुन्छ ?

आफर लोहारको लुहा पिटने मात्र होइन
ताम्राकारको तामो पगाल्ने मात्र होइन
कङ्शाकारको काँसो ढलोट पार्ने मात्र होइन
आफर कामीदाइको कल मात्र पनि होइन
विश्वकर्माको मन्दिर हो
सभ्याता, संस्कृति र कलाको पहिचान हो ।


कैलाशकुमार पाण्डेय, परशुराम– १२ डडेल्धुरा