सम्पादकीय

चैत्र २५, २०७८ जनकपुर
मैथिली विकास कोषको आयोजनामा बुधबारदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव- २०७८ शुक्रबार अबेर राति सम्पन्न भएको छ । जानकी मन्दिरमा आयोजित रंगारंग कार्यक्रम बीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महोत्सवको समापन गरेका हुन् ।
तीन दिने महोत्सवको क्रममा प्राचिन मिथिलाको राजधानी जनकपुरधाम मिथिला मैथिलीमय बनेको थियो । जानकी मन्दिर प्रांगणमा मिथिला भोजन, मिथिला चित्रकला, मैथिली पुस्तक प्रदर्शनी, कथा र कवितागोष्ठी सँगै रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो भन्ने जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा नेपाल र भारतका विभिन्न नाट्य समूहद्वारा पाँचवटा नाटक मञ्चन गरिएको थियो । मैथिली भाषा, साहित्य, कला, संस्कृतिको विषयसँग सम्बन्धित १० विषय माथि गम्भीर विचार मन्थन पनि भएको थियो ।
बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल महोत्सवको उद्घाटन गरेका थिए । महोत्सवको तेस्रो दिन शुक्रबार पहिलो चरणमा ‘मातृभाषा माथि लगाम’ विषयमा विमर्श भएको थियो । जसमा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, मधेसी आयोगका अध्यक्ष विजय दत्त, मैथिली केन्द्रिय विभागका पूर्वप्रमुख परमेश्वर कापडि, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य धिरेन्द्र प्रेमर्षि र विराटगरका मैथिली साहित्यकार प्रवीणनारायण चौधरी सहभागी थिए ।
सहभागीहरुले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरे पनि नेपालीबाहेकका मातृभाषाको अवस्थामा सुधार नआएको भन्दै दुःख व्यक्त गरेका थिए । नेपालको संविधान २०७२ को धारा ७ (२ )ले प्रदेश सरकारलाई प्रदेशभित्र सर्वाधिक बोलिने भाषाहरुमध्ये एक वा एकभन्दा अधिकलाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने अधिकार दिएको छ । तर, हालसम्म मधेसप्रदेशले सरकारी कामकाजको भाषा निर्धारण गर्न पाएको छैन । चौधरीले संविधानको धारा ७ मा संशोधन नभएसम्म नेपालीबाहेकका भाषाहरुको विकास हुन नसक्ने बताएका थिए । यस धारामा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख गरिए पनि संघीय सरकारमा अन्य भाषाको प्रयोगबारे भने केही उल्लेख छैन ।
दोश्रो सत्रमा मैथिली साहित्यमा वैचारिक चेत विषयमा विमर्श भएको थियो । जसमा साहित्यकार रामभरोस कापडि, कालीकान्त झा तृषित, अजित अजाद, कमलमोहन चुन्नु, रोशन जनकपुरी र नित्यानन्द मण्डल सहभागी थिए भन्ने तेश्रो सत्रमा आयोजित समाज परिवर्तनमा युवाको भूमिकामा युवा अभियानीहरु रणधीर चौधरी, सुशील कर्ण, सरोज झा, राकेशविक्रम साह, कृष्णा सिंह, जितेन्द्र महासेठ, दिपू कापडि, घनश्याम मिश्र र गायत्री मिश्र सहभागी थिए । यसै गरी अन्तिम सत्रमा आयोजित ’शून्य सिनेमा, पश्चगामी रंगमंच’ शीर्षकको विमर्शमा महेन्द्र मलंगिया, किशलय कृष्ण, अमितेश साह, पुर्नेन्दु झा, अशोक दत्त र रूपा झा सहभागी थिए ।
दोश्रो दिन बिहीबार जनकपुर उद्योग वाणिज्य संघको गणपति सभाकक्षमा ‘भाषा, भाषिका र मैथिली’ विषयमा गम्भीर विमर्श भएको थियो । पछिल्ला दिन मैथिलीभाषीहरुले समेत आफू अन्य भाषा बोल्ने गरेको दाबी गर्न थाले पछि कोष यस विषयमा महत्त्वपूर्ण विमर्श गराउने निर्णय गरेको थियो । विमर्शमा भाषा वैज्ञानिक प्रा. डा. रामावतार यादव, भाषाविद् डा. अमरकान्त झा, भारतीय साहित्य समीक्षक डा. रमानन्द झा रमण, डा. विजयकुमार सिंह र रामचन्द्र झा सहभागी थिए ।
आफ्नो मन्तव्यको क्रममा भाषा वैज्ञानिक प्रा. डा. यादवले भाषिकाहरुको सबलता बिना समृद्ध भाषाको निर्माण हुनै नसक्ने बताए । उनले भने- ’चाहे जतिसुकै पढे लेखेका जातीय समूहका व्यक्तिनै किन नहोस्, उनी भाषिका मात्र बोल्ने गर्छन । भाषिकाहरुको समिश्रणले भाषा बन्दछ । भाषालाई सम्बृद्ध बनाउन भाषिकाहरु समृद्ध हुनै पर्दछ ।’
विचार मन्थनको क्रममा भाषाको मानकीकरण, भाषामाथिको जातीय अहंकार, लोप हुन लागेको मैथिलीको मौलिकलिपि मिथिलाक्षरको विषयमा समेत गम्भीर छलफल भएको थियो । डा. झा, डा. रमण तथा डा. सिंहले मिथिलाक्षरको सट्टा देवनागरी लिपिमा लेखिन थालेपछि मैथिलीमा उच्चारण सम्बन्धी दोष उत्पन्न भएको बताएका थिए ।
‘पर्यटन विकास, सांस्कृतिक आधार’ विषयक विमर्शमा मधेस सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुघन महतो, निति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, योजना आयोगका सदस्य प्रा. डा. सुरेन्द्र लाभ, प्रदेश सांसद मञ्जु यादव, युवा राजनीतिकर्मी श्रीप्रसाद साह तथा पत्रकार मोनिका झा सहभागी थिए । छलफलको क्रममा जनकपुरमा सांस्कृतिक पर्यटनको सम्भावना, समस्या तथा यसको समाधानबारे गम्भीर विमर्श भएको थियो ।