• २०८१ श्रावाण ११ शुक्रबार

इन्द्रिय-सुख

किशन पौडेल

किशन पौडेल

मन साह्रै लोभी थियो । आफ्ना पाँचै इन्द्रियहरूलाई नियन्त्रणमा राखेर धन सङ्ग्रहतिर मात्र आसक्त भयो ।
सारै पीडित भएपछि एक दिन सबै शरीरका इन्द्रियहरू मिलेर उसलाई अनुरोध गरे-
‘हेर्नूस् मन ! तपाई सारै कन्जुस्याइँ गर्नुहुन्छ यस जवानीमा पनि हामीले न मीठो खान पायौँ,  न राम्रो लगाउन पायौँ,  न कहीँ घुम्न जान पायौँ ।
‘हामी तपाईंको दास भएर अब कति समय यसरी कुण्ठित भएर बाँच्न सक्छौ र  ?’
लोभी मनले भन्यो-
‘हेर इन्द्रियहरू ! यो सब मैले तिमीहरूकै लागि कमाएर जोहो गरेको हो । अहिले भोकप्यास सहेर बस !  कुनै दिन मस्तसँग खान दिऊँला ।’
इन्द्रियहरू हरेस खाएर आफ्नो काममा व्यस्त भए ।
कालान्तरमा मनले सोच्यो, मैले यति धेरै सम्पत्ति जोडिसकेँ । मलाई मस्तसँग खान- लगाउन र घुम्न पुग्ने भैसकेको छ । यो सङ्ग्रह गरेर राखेको अकुत सम्पत्ति के गर्नु  ? कसले लिएर जाला ? अनेकौँ  चिन्ताले मन त्रसित हुन थाल्यो ।
मन अझै तन्नेरी नै थियो- उसलाई लाग्दैथियो । अब रमाइलो गर्नुपर्छ, नयाँ ठाउँहरूमा घुम्नुपर्छ,  मोजमस्ती गर्नुपर्छ ।
एक दिन आफ्ना सबै इन्द्रियहरूलाई बोलाएर भन्यो-
‘सुन इन्द्रियहरू हो  ! म अब तिमीहरूको इच्छा पूरा गर्नेछु ।’
कानले केही सुनिरहेको थिएन । दृश्यमा आसक्त हुने आँखामा आँसु बरर झर्दैथिए । स्वादमा आसक्त जिब्रो मौन थियो । विषयसुखमा लालायित शरीर निष्क्रिय र अल्छी भैसकेको थियो ।
मन उदास र बेचैन थियो !


(हेटौँडा निवासी पौडेल विगत तीन दशकदेखि साहित्य सिर्जनामा कलम चलाउँदै आएका स्रष्टा हुन् )
[email protected]