• २०८३ जेष्ठ १२, मंगलवार

काभ्रेको नालामा विशेष कविता उत्सव सम्पन्न

काभ्रे ।

नेपाली कविताको श्रीवृद्धिमा समर्पित साहित्यिक संस्था काव्य–कम्पनीले काभ्रेको नालामाथि अवस्थित प्राकृतिक तथा मनोरमस्थल पिर्के ढुङ्गामा विशेष कविता उत्सव सम्पन्न गरेको छ । प्रकृतिको खुला काखमा आयोजित कार्यक्रममा कविता, मुक्तक र गजलमार्फत साहित्यिक वातावरण सजीव बनेको थियो । कार्यक्रममा १८ कविले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए। कवि हरिहर तिमल्सिनाले ‘घर फिर्ने बाटो’, श्रीराम दाहालले ‘वैराग्य’, रामसुन्दर देउजाले ‘खोयाको फिलिङ्गो’, केशव ज्ञवाली ‘आगत’ ले ‘समतुल्य’ र नवराज रायमाझीले ‘ट्रान्जिट’ कविता वाचन गरेका थिए ।

त्यस्तै शकुन्तला जोशीले ‘वरको बोट’, उपेन्द्र दाहालले ‘अनुभूति र धर्तीमाता’, दियेशरत्न शाक्यले ‘नालन्द’, हरिप्रसाद चौलागाईंले ‘जून उदाए’ तथा रञ्जु दाहालले ‘आमा मरेको दिन’ शीर्षकका कविता प्रस्तुत गरे शिव आर्यले ‘दोरदोर’, जुमन किरणले मुक्तक, नवराज उत्साहीले गजल र प्रकाश दाहालले अभिनयसहितको कविता तथा दिनेश खरेलले ‘हराएको कवि’ सुनाएका थिए । विश्व सिग्देलले ‘जङ्गल गइरहेको मान्छेलाई’ र प्रोल्लास सिन्धुलीयले ‘शहरको वृद्धालय’ कविता प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

समकालीन पुस्ताका चर्चित कविहरूले पृथक् सोचसहित कविताको उत्थान गर्ने उद्देश्यले स्थापना गरिएको काव्य–कम्पनीको यो पहिलो औपचारिक सार्वजनिक कार्यक्रम रहेको संस्थाका एक परिकल्पनाकार आख्यानकार तथा कवि प्रोल्लास सिन्धुलीयले जानकारी दिए । उनका अनुसार संस्था देशभर कविता अभियान विस्तार गर्ने दीर्घकालीन योजनाका साथ अघि बढिरहेको छ । काव्य–कम्पनीको नेतृत्वमा नियात्राकार तथा छन्दकवि रञ्जु दाहाल, गीतकार तथा कवि विश्व सिग्देल लगायत सक्रिय छन् । कवि रञ्जु दाहालले साहित्यिक अभियान देशव्यापी बनाउने लक्ष्य रहेको बताइन्। कवि सिन्धुलीयले ओझेलमा परेका प्रतिभाशाली कविहरूको खोजी र प्रवद्र्धन नै संस्थाको मूल उद्देश्य रहेको उल्लेख गरे ।

कार्यक्रम प्रकृतिको सुन्दर काखमा आयोजना गरिएको थियो । सहभागी कविहरू शेराबाट करिब एक घण्टा ठाडो उकालो पैदल यात्रा गर्दै पिर्के ढुङ्गा पुगेका थिए । विशाल चट्टानमाथि बसेर कविता वाचन भइरहँदा कहिले चर्को घाम त कहिले झरीले कार्यक्रमलाई झन् रोमाञ्चक बनाएको सहभागीहरूले बताएका छन् । कार्यक्रमपछि पिर्केढुङ्गा तल रहेको तपस्थलीमा श्रीराम दाहालको नेतृत्वमा प्रारम्भिक स्वरूपमा निर्माणाधीन स्वयम्भू वेदान्त विद्यापिठले सहभागीहरूलाई खाजा खुवाई बिदाई गरेको थियो ।