• २०८१ मंसिर १७ सोमबार

समय बिम्ब

कोपिला घिमिरे पोखरेल

कोपिला घिमिरे पोखरेल

रहरहरू बिस्कुनझैं छरिएका छन्
मनको सडकमा
सपनाका पँखेटा काटिएका छन्
समयको धारले
आँखाले देख्न पाएका छैनन्
उमङ्गगको बर्षात
निदाउन सकेका छैनन् परेलीहरू
पुरै कोलाहलमय बनेको छ मथिङ्गल
स्वाद रहित बनेको छ जीवन
रङ्गहिन बनेकाछन् खुशीहरू
लाग्छ जोश जाँगरले सन्यास लिएको छ
शरिरबाट

मधुरो बल्न थालेको छ आशाको दीप
बतास पनि विपरित दिशातिर
बहे झैं लाग्छ
मानौँ सुर्य पनि एकतमासले उदाउँछ
पोखेर बिषाक्त किरणहरू
जूनले शितलता दिन छाडि सक्यो
आकाश आकाश जस्तो लाग्दैन
धर्ति धर्ति जस्तो लाग्दैन अचेल
मानौं, निकट भविश्यमै
भयानक प्रलय हुँदैछ पृथ्वीमा
र नयाँ सृजना हुँदैछ प्रकृतिको

तर पनि मनको एउटा कुनामा कतै
एक दर्बिलो उत्साहको दीप
बलिरहेको छ
र यसले भनिरहेको छ कि
“रात रहे अग्राख पलाउँछ”
अँध्यारोलाई चिर्नेछ एकदिन उज्यालोले
हराएको जोश फर्किनेछ शरिरबाट
फुटेर ज्वालामुखी बिद्रोहको
नयाँ बिहान उदाउनेछ शान्तिको
घाइते जिजीबिषाहरू ब्युँझनेछन् जुर्मुराउँदै
साहसको बिगुल फुकेर
न्यौछावर हुनेछ यस कलुषित परिस्थितिको
उन्मुक्त मुस्कुराउनेछन् निन्याउरा ओठहरू
अनि आत्मा विस्वासको झण्डा उचालेर
अस्तित्व रक्षाको विजयी धुन
गुनगुनाउने छन् धर्ती माताका सन्तानहरू ।


कोपिला घिमिरे पोखरेल (खोटाङ, हाल चावहिल)