दलदल हिलोमा
समयको अनेकन जर्जरता खप्दै
कोमल श्वेत कमलको फूल
लाग्छ, उनी तलाउकै महारानी हुन्
निःशब्द तर अनेकन शब्दहरू
अचल तर खुब चलायमान
उनलाई बुझ्न तलाउमै डुबल्की मार्नुपर्छ
बाहिर त उनी सधैँ हाँसिहाँसी फुलिरहेकी हुन्छिन्
आफ्नो सुन्दरताले तलाउ सिँगारी रहेकी हुन्छिन्
अनगिन्ती दर्शकहरूको तस्बिर बनी
मुस्कुराउँछिन् कविको कवितामा
कुनै वेला टिपिन्छिन् बोटबाट
सजिन्छिन् पूजाको थालीमा
र पुग्छिन् मन्दिरमा
कुनै वेला नटिपिएरै ओइलाउँछिन्
र झर्छिन् आफ्नै फेदमा
बैँसमा उनलाई सुन्दर ठान्नेहरू
कहाँ पुग्छन् होला उनको अन्तिम समयमा ?
मलाई लाग्छ
यही कमलझैँ छन् कति आमाहरू
जो आफू दलदलमा फुलेर फुलाउँछिन् हामीलाई
अन्ततः
जब हामी फक्रिन्छौँ र फुल्छौँ ढकमक्क
तब किन ओइलाउँछिन् आमा ?
किन भारी हुन्छिन्
र किन पुर्याइन्छिन् वृद्धाश्रमसम्म ?
(न्योपानै चर्चित कवि हुन् । यो कविता उनको यो कविता ‘जङ्गलको यात्रा’ बाट साभार गर्रिको हो ।)
[email protected]