• २०८१ भाद्र २४ सोमबार

कवि राजेशमान केसीका चार कृति सार्वजनिक

भक्तपुर, कवि तथा गायक राजेशमान के.सी.का विभिन्न विधाका चार वटा कृतिहरू एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ ।समारोहका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य- सचिव डा. जगत्प्रसाद उपाध्यायले विमोचन गर्नुभएको कृतिहरूमा “दृष्टिकोण” नामक लेख- निबन्ध सङ्ग्रह, “उत्प्रेरणा” नामक विभिन्न राष्ट्रिय- अन्तर्राष्ट्रिय वैज्ञानिक व्यक्तित्वहरूको जीवनी र योगदान सम्बन्धी लेख- रचनाहरूको सङ्ग्रह एवं “सृष्टि” र “जिन्दगीको यात्रा”नामक दुईवटा कविता सङ्ग्रह रहेका छन् ।

विमोचनपछि आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै प्रमुख अतिथि डा. उपाध्यायले कृतिकार राजेशमान केसीले लेख्नु भएका कृतिहरू अत्यन्त जीवनोपयोगी एवं समय सान्दर्भिक रहेको र त्यसमा पनि उहाँ गद्य लेखनतर्फ बढी सफल देखिनु भएको हुँदा यसै अनुरुप आफ्नो लेखन कार्यलाई निरन्तरता दिन उपयुक्त हुने सुझाव दिनु भयो ।

त्यसैगरी कवि केसीकी सुपुत्री एवं ब्लाइण्ड रक्स संस्थाकी संस्थापक अध्यक्ष सृष्टि केसीले बुबाले यसरी साहित्यिक क्षेत्रमा लागेर पुस्तकहरू प्रकाशन गर्दा आफूलाई निकै गर्वको महसुस हुने गरेको र यसबाट आफूलाई पनि आफ्नो क्षेत्रमा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको धारणा व्यक्तगर्नु भयो ।कृतिकार राजेशमान केसीले आफूले साहित्य सिर्जना मार्फत् समाजको सकारात्मक रुपान्तरणमा योगदान पु्र्याउने उद्देश्यले पुस्तकहरू लेखेको र आफ्नो सेवानिवृत्त जीवन यस्तै सृजनशील कार्यमा व्यतीत गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा कवि तथा गायक के.सी.ले आफ्नै स्वर, संगीत र शब्दमा एउटा उत्प्रेरणामूलक गीत पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार शेखर ढुङ्गेलले स्वागत मन्तव्य व्यक्तगर्नु भएको थियो भने समालोचक युवराज मैनाली एवं गीतकार सुवासचन्द्र ढुङ्गेलले विमोचित कृतिहरूमाथि आ-आफ्नो समीक्षात्मक मन्तव्य व्यक्तगर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार विनोद नेपाल, विनयध्वज थापा, विद्या घिमिरे, त्रिविक्रम पाण्डे, लालबहादुर भुजेल, बसन्त मुनकर्मी लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सिर्जना अभियान समाजद्वारा भक्तपुरको सृजनानगरस्थित मोडर्न कलेजमा आयोजित उक्त कार्यक्रमको सभापतित्व साहित्यकार एवं प्राज्ञ ध्रुव मधिकर्मीले गर्नु भएको थियो ।