काठमाडौँ/१७ चैत २०७८
वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ–सामाजिक आयामलाई समेटिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ ।
किताब पब्लिसर्सद्वारा प्रकाशित यस पुस्तकको सम्पादन लेखक तथा पत्रकार यज्ञशले गरेका हुन् । पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको समाजमा महत्त्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरूको अवस्था, वैदेशिक रोजगारीमा महिला–दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ ।
विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरूका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसाग कुराकानीसमेत गरेर तयारी पारिएका मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका गरी सातवटा लेखहरू पुस्तकमा समाविष्ट छन् ।
देशको अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा एक चौथाइ योगदान भएको, मानवविकास सूचकाङ्कलगायतका सामाजिक/आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे तथ्यपरक विश्लेषण गरिएको पुस्तकका सम्पादक यज्ञशले बताएका छन् ।