समाचार
काठमाडौँ ।
कवि ईश्वर थोकरको दशौँ कृतिका रूपमा कवितासङ्ग्रह ‘अमृत्यश्वरी’ सार्वजनिक भएको छ । बाल्यकालकी संरक्षक तथा गुरुआमाप्रति समर्पित उक्त सङ्ग्रहमा १४ कविता समावेश छन् । कवि थोकरले आफ्नी गुरुआमाप्रतिको श्रद्धा, स्मृति र अनुभूतिलाई केन्द्रमा राखेर सङ्ग्रहका कविता सिर्जना गर्नुभएको हो । पुस्तक अष्टमान थोकरले प्रकाशन गर्नुभएको छ ।
‘तामाङ साहित्य पुरस्कार–२०७१’बाट पुरस्कृत थोकरका यसअघि ‘पिङ्गाई’ (गजलसङ्ग्रह, २०६८), ‘प्लिक्सी’ (कवितासङ्ग्रह, २०६९), ‘नोरी’ (कवितासङ्ग्रह, २०७४), ‘सिरिया’ (कवितासङ्ग्रह, २०७५), ‘वाला सुइटर’ (संस्मरणसङ्ग्रह, २०७५), ‘ल्हुइला गोङमा’ (संस्मरणसङ्ग्रह, २०७६), ‘लीला’ (शृङ्खला कवितासङ्ग्रह, सन् २०२१), ‘प्रेमको आदिम गीत’ (संयुक्त कवितासङ्ग्रह, सन् २०२५) र ‘आमा’ (शृङ्खला कवितासङ्ग्रह, २०८२) प्रकाशित छन् । कविता र संस्मरण लेखनसँगै अनुवाद तथा सम्पादनमा पनि थोकर सक्रिय हुनुहुन्छ । उहाँको अनुवादमा ‘याङ्जी थोकरका बालकथाहरू’ प्रकाशित छ भने ‘राष्ट्रिय भाषाका गजलहरू’ (२०६७) र ‘चन्द्रमा ः भाग–२’ (२०८१) उहाँले सम्पादन गर्नुभएको छ ।
‘अमृत्यश्वरी’सँगै थोकरका मौलिक तथा संयुक्त गरी प्रकाशित साहित्यिक कृतिको सङ्ख्या दश पुगेको छ ।
