समाचार

श्री लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले निम्न लिखित विभिन्न सर्जकहरूलाई आठ सम्मानहरू अर्पित गर्ने घोषणा गरेको छ ।
निर्णयअनुसार विज्ञान- प्रविधिको क्षेत्रमा केही वर्षदेखि उदाहरणीय कार्य गरेवापत महावीर पुनआवद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई ‘गङ्गादेवी चौधरी स्मृतिसम्मान’, अग्रज साहित्यकार तथा पत्रकार प्रा. डा. चूडामणि रेग्मीलाई ‘सरस्वती गद्यसम्मान’, वरिष्ठ इतिहास- संस्कृतिविद् प्रा. डा. वीणा पौडेललाई ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’, वरिष्ठ चित्रकार प्राज्ञ श्रीमती रागिनी उपाध्यायलाई‘ ‘अरनिको ललितकलासम्मान’, वरिष्ट कवि श्री विश्वविमोहन श्रेष्ठलाई ‘गोपालप्रसाद रिमाल काव्यसम्मान’ वरिष्ठ रङ्गकर्मी श्री वीरेन्द्र हमाललाई ‘बालकृष्ण सम रङ्गसम्मान’, वरिष्ठ लोकगायक प्राज्ञ श्रीनन्दकृष्ण जोशीलाई ‘नारायणगोपाल सङ्गीतसम्मान’ तथा प्रसिद्ध क्रिकेट खेलाडी श्री सन्दीप लामिछानेलाई ‘नेपाल नवप्रतिभासम्मान’ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।
यी सम्मानहरुमध्ये गङ्गादेवी चौधरी स्मृतिसम्मान नगद रू. १ लाख १ रूपैयाँ र प्रशस्ति-पत्र तथा अन्य सात सम्मानहरू प्रत्येकको रू. ५१ हजार नगदका साथै प्रशस्ति-पत्र रहेको छ ।