• २०८१ फागुन १ बिहीबार

सावन

बसन्त चौधरी

बसन्त चौधरी

एकान्तमा
एकतमास पर्दैछ पानी
सिमसिम सिमसिम
आकाशसँग धरती स्पर्शित भइदिँदा
लाग्यो म तिमीसँग एकाकार छु !

धरतीको रिमझिममा
आज आकाश घुलमिल भएजस्तै लाग्छ
आश्चर्य !
धरतीमा जति खनिन्छ आकाश
उति नै आकाशमा खुल्दो रहेछ आकाश !
सिमसिमे पानीको मधुरो वर्षामा
गहिरो मायाको परिभाषा पढ्दैछु म !

माया गर्नु,
दिनु हैन
चौबन्दी चोलो
दिनु, त्यो दिनु,
अझ यस्तो दिनु हो
जुनीभर तिर्दै गरे पनि
चुक्ता नहुने
ऋण लिनुसरह नै होस्
मैले आजै जानेँ
त्यो माया हैन रहेछ
माया भनेर जत्ति ग¥यौँ
माया वास्तवमा यस्तो रहेछ
जुन गरिँदैन
अनि
जब बुझेँ तब मैले
पानीको सिमसिममा
सुनौलो रिमझिम देख्न थालेँ !

साभार: तिमीविनाको म(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)