संस्मरण
काठमाडौं ।
कथाकार शिवराज शाहीको कथासंग्रह ‘एक मान्ठ एक देवता’ सार्वजनिक भएको छ । कथाकार शाही ‘बाह्रखरी कथा प्रतियोगिता २०८२’का विजेता कथाकार हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार नयनराज पाण्डे, लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र कथाकार शाहीले कथाकृति संयुक्त रूपमा लोकार्पण गरे ।
कार्यक्रममा कथाकृतिमाथि चर्चा गर्दै आख्यानकार पाण्डेले नयाँ पुस्ताका लेखकका कृतिमा कर्णालीको विषयवस्तुलाई गहन ढंगले समेटिएको बताए । पाण्डेले कथाकार शिवराजमा ‘शिवराज–क’ र ‘शिवराज ख’ दुवै भएको बताउँदै भने, “शिवराज–क’का कथा बेजोड छन्, ‘शिवराज–ख’का कथा अल्लारे छन् ।”
पाण्डेले शिवराजको किताब अब्बल रहेको उल्लेख गरे । लेखक माधव चौलागाईंले पुस्तकमा कर्णालीका कथा व्यथा उल्लेख गरे । उनले कथाकृति कर्णालीको समाजशास्त्रीय दर्पण भएको बताए । अभिनेत्री सुरक्षा पन्तले ११ वटै कथामा सिनेमा बनाउन सकिने चर्चा गरिन् । कथाकार शाहीले आफूले कर्णालीका आमा र दिदीबहिनीका आवाज समेटेर कथा लेखेको बताए । शाहीको कथा ‘चक्रपाणी चालिसे कथा प्रतियोगिता २०८१’ मा पनि विजयी भएको थियो । बुकहिलद्वारा प्रकाशित कथाकृति शाहीको पहिलो कथासंग्रह हो ।
