• २०८१ पौष २९ सोमबार

थारू जातिको संक्षिप्त इतिहास र संस्कृति’ सार्वजनिक

चितवन ।

भजुमनराम महतोले लेखेको ‘थारू जातिको संक्षिप्त इतिहास र संस्कृति’ पुस्तक सार्वजनिक भएको छ । चितवनका साहित्यकार तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य केदारनाथ खनालले शनिबार उक्त पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा थारू जातिको ऐतिहासिक पृष्ठभूमि, बसोबास क्षेत्र, पहिरन र पेसा व्यवसाय, चितवन जिल्लामा थारू जातिको अवस्था, परम्परा, मूल संस्कार, संस्कृति, नाचगान जस्ता विषय समेटिएका छन् ।

थारू कल्याणकारिणी सभाको इतिहास, भूमिका र यसले गरेका आन्दोलन र अभियान पनि पुस्तकमा समेटिएको छ । किताब पठनीय रहेको समीक्षक डीआर पोखरेलले बताए । अर्का टिप्पणीकार थारू पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष कारी महतोले किताबले थारू समुदायका विविध पक्षका बारेमा राम्रो जानकारी दिने बताए ।

थारू समुदाय चितवनका आदिवासी हुन् । २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ७ लाख १० हजार रहेकामा थारू समुदायको जनसंख्या ७२ हजार ६ सय ५८ रहेको छ । देशभर थारूको जनसंख्या १८ लाख ७ हजार छ । तराईका २२ जिल्लासहित काठमाडौं उपत्यका, मकवानपुर, सिन्धुली र सुर्खेतमा थारू समुदायको बसोबास रहेको पुस्तकमा उल्लेख छ ।