• २०८२ माघ २९, बिहीबार

टीकालाल धिमालको धिमाल भाषाको नाटकसङ्ग्रह ‘फाइसालाम्का गेसा’ लोकार्पण

मोरङ ।

बेलबारीका स्रष्टा टीकालाल धिमालको धिमाल भाषामा लेखिएको नाटकसङ्ग्रह ‘फाइसालाम्का गेसा’ (उज्यालो कुपी) लोकार्पण गरिएको छ । बेलबारी साहित्य विकास समिति र धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिको संयुक्त आयोजनामा आदिवासी जनजाति सभाहलमा आयोजित कार्यक्रममा उक्त कृतिको सार्वजनिक विमोचन गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि रहेको कार्यक्रममा साहित्यकार हर्कमान तामाङ, बेलबारी नगरपालिकाका ३ नं वडाध्यक्ष योगेन्द्र सुवेदी, अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राई, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, स्रष्टा समाजका अध्यक्ष जेबी थुलुङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, आङ्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमाल, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खालगायतको उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि इरान राई र केशु विरहीले समीक्षा प्रस्तुत गर्नुभएको थियो । समीक्षक राईले लेखकको साहित्यिक परिचय, नाटकले दिएको उद्देश्य र बेलबारीको नाटक साहित्यमा टीकालाल धिमालको भूमिकामाथि चर्चा गर्नुभएको थियो । समीक्षक विरहीले टीकालालमार्फत बेलबारीले पहिलो धिमाल भाषाको कृति प्राप्त गरेको उल्लेख गर्दै धिमाल भाषासँगै नेपाली भाषामा पनि अनुवाद गरिएकाले यो कृति मौलिक र अनुवाद दुवै स्वरूपमा महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, साहित्यकार हर्कमान तामाङ, धिमाल जातीय विकास केन्द्रका सहअध्यक्ष केदार धिमाल, केन्द्रीय सल्लाहकार कृष्णबहादुर धिमाल, वडाध्यक्ष योगेन्द्र सुवेदी, संयुक्त खस क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष प्रताप थापा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले कृतिले धिमाल जातिको संस्कार, संस्कृति र भाषाको संरक्षण तथा ्रकाश भट्टराईको रचनावाचन तथा बथान समूहका कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहेको थियो । शिव सहयात्रीले शब्दमार्फत उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले गर्नुभएको थियो ।