समाचार

समुद्रको छालजस्तो तिम्रो आगमनले
निथ्रुक्क भिजाएपछि
फुलेको हो प्रेमको गुलाफ
मेरो ओठमा
फुलेको हो रहरको कुसुम
मेरो मनमा
हरायौ तिमी
हरायो मेरो मनको गुलाफ
हराएँ म
तिमी आउने बाटो हेरेर ।
कहाँ भरिँदो रहेछ र मन
कोही आउँदैमा
भरिन त
आउनेलाई पर्खन पनि सक्नु पर्दोरहेछ !
यादका सुललित झङ्कारहरू
जति नै ताजा भएर आए पनि
ओइलिँदैजाँदा रहेछन्
भ्यालेन्टेनीहरूको हातमा गुलाफ
खुइलिँदैजाने रहेछ
मुटुको पोस्टकार्ड !
प्रेमको फूल फुल्न त
रोपिनुपर्दो रहेछ मुटुमा
सेतो गुलाफ
र भरिनुपर्दो रहेछ
कहिल्यै नखुइलिने
प्रेमकै रातो रङ ।
बगेर कहा ँपुग्यो होला
रिस्ती खोला
जहाँको त्यहीँ हुने त
म जस्तै
हामीले खेलेका
बगरकिनारका ढु्ङ्गा न रहेछन्
जो कुरिरहेछन् निरन्तर
तिम्रो याद दिलाउने छालहरू !
घरिघरि त लाग्छ
म पनि बगिदिऊँ
यही रिस्ती खोलासँगै
र माया गरूँ
जीवनको गतिलाई
तर मान्दैन मन ।
म बरू यहीँ बगरमा काँस जस्तै फुलिरहन्छु
जबसम्म
मेरो मनको गुलाब लिएर आउँदैनौ तिमी
मैले तिम्रो लागि
आफ्नै हठलाई
हदभन्दा बढी माया गर्न थालेको छु
नबिर्सनु
कहिल्यै नबिर्सनु
सम्झनेहरूलाई !
नीरा शर्मा, अमेरिका
[email protected]