• २०८३ श्रावण १७, आईतवार

अर्जुन चन्द्रको “संवेदनाका प्रतिध्वनि”मुक्तकसङ्ग्रह लोकार्पण

अर्जुन चन्द्रको “संवेदनाका प्रतिध्वनि” मुक्तकसङ्ग्रह लोकार्पण कार्यक्रम सम्पन्न ! हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको सभाध्यक्षमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, विशिष्ट अतिथिहरू लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, हातेमालो साहित्य संगमको अध्यक्ष सुनिल अधिकारी, प्रा.डा. गोपीन्द्र पौडेल,कृतिकार अर्जुन चन्द्रको उपस्थितिमा प्रमुख अतिथिज्यूबाट दीप प्रज्वलन गरेर कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रम संचालकमा संस्थाका संस्थापक सदस्य पूर्ण बहादुर श्रेष्ठ ’हृदयङ्कृत’ हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित साहित्य अनुरागी आत्मीयमनहरूको स्वागत मन्तव्य संस्थाकी संस्थापक सदस्य सुभद्रा अधिकारीले गर्नु भएको थियो । लोकार्पणमा बाक्लो उपस्थित ( लगभग ९० जना ) माझ लोकार्पित कृतिलाई गहिरो अध्ययन गरेर निकै उत्कृष्ट तरिकाले प्रा.डा. भरत कुमार भट्टराईज्यूले समालोचना गर्नुभयो, जुन सम्झन लायक रहेको थियो । विजयध्वज थापा, सुनिल अधिकारी, प्रा.डा. गोपीन्द्र पौडेलका छोटो तर मनन योग्य शुभकामनाका शब्दले कार्यक्रम अघि बढिरहेको थियो । कृतिकार अर्जुन चन्द्रले पनि उपस्थित साहित्य अनुरागी सम्पूर्णमा दिल खोलेर कृतज्ञता व्यक्त गर्दै आफ्ना मनका कुरा राख्नु भएको थियो ।

उपस्थित साहित्यकार मध्येबाट बिच बिचमा सर्जकका लोकार्पित पुस्तकबाट मुक्तक वाचन पनि हुँदै गयो । मुक्तक वाचन गर्नु हुनेमा, मानन्धर अभागी, राजेशराज गड्तौला, मात्रिका घिमिरे, सुधिर थापा, शिला कुमारी खरेल, ज्ञानु दाहाल, उत्तम विचार, रियाज सिवाकोटी हुनुहुन्थ्यो ।

प्रमुख अतिथि ज्ञानुवाकर पौडेलसरको गहन अध्ययन गरेर सम्बन्धित पुस्तकका विषयमा दिइएका उदाहरणीय शब्दहरूले भविष्यमा केही सिक्न मिल्ने प्रेरणाका वाक्यहरू स्मरणीय थिए । कार्यक्रममा आमन्त्रित अतिथिहरू साथै कृतिकारलाई संस्थाका अध्यक्षले मायाको चिनो प्रदान गर्नु भयो । कार्यक्रमको कुशल संचालक, शुभकामना मन्तव्य दिनुहुने, संस्थाका सहयोगी सम्पूर्ण साथीहरूलाई धन्यवाद र आभार व्यक्त गर्दै २७ ओैँ कृति विमोचनमा उपस्थित सम्पूर्ण साहित्य अनुरागी प्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको जानकारी मदन नेपालले गराउनु भयो ।