• २०८३ असार १७, बुधबार

स्रष्टा छुकांको ‘ताथली: भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण

इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो। जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जान्छ। यही चिन्तालाई आत्मसात् गर्दै चाँगुनारायण नगरपालिका–९ ताथलीको इतिहास, भूगोल, लोकसंस्कृति, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था र सामाजिक जीवनलाई एउटै कृतिमा समेटिएको अनुसन्धानमूलक पुस्तक ‘ताथली: भूगोलदेखि लोकसंस्कृतिसम्म’ सार्वजनिक गरिएको छ । चाँगुनारायण नगरपालिका–९ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत प्रकाशित पुस्तकको लोकार्पण तथा परिचर्चा कार्यक्रम वडा सदस्य रविन बासुकलाको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रम पुस्तक विमोचनमा सीमित रहेन, स्थानीय इतिहासको संरक्षण, सांस्कृतिक उत्तराधिकारको जगेर्ना र भावी पुस्ताप्रतिको दायित्वबारे बहसका रूपमा पनि स्थापित भयो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले इतिहास र संस्कृतिविनाको समाजको पहिचान नै कमजोर हुने उल्लेख गर्दै स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले स्थानीय तह आफैंले आफ्नो इतिहास र सम्पदालाई पुस्तकका रूपमा सुरक्षित गर्नु दूरदर्शी र अनुकरणीय कार्य भएको बताए ।
उनले कला, संस्कृति र सभ्यता कुनै समुदायका गहना मात्र नभई राष्ट्रको आत्मा भएको उल्लेख गर्दै तिनमाथि हुने आक्रमणप्रति नयाँ पुस्ता सचेत हुनुपर्ने धारणा राखे। उनका अनुसार आफ्नो इतिहास चिनेको पुस्ताले मात्रै आफ्नो समाज, संस्कृति र सार्वभौम अस्तित्वको रक्षा गर्न सक्छ ।

विशेष अतिथि साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुले ताथलीको ऐतिहासिक महत्त्व लामो समयदेखि चर्चामा रहे पनि त्यससम्बन्धी सामग्री विभिन्न स्रोतमा छरिएर रहेको अवस्थामा यस पुस्तकले ती सबैलाई एउटै सन्दर्भग्रन्थमा समेटेको बताए। मौखिक परम्परामा सीमित रहेका धेरै तथ्य अब स्थायी अभिलेखका रूपमा सुरक्षित भएको उनको भनाइ थियो । उनले विशेषगरी ताथलीमा प्राप्त अभिलेख, शिलालेख तथा पुरातात्त्विक सामग्रीले भक्तपुरको इतिहास बुझ्न नयाँ आधार प्रदान गर्ने उल्लेख गर्दै यिनको संरक्षणमा लेखकले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
अनुसन्धाता तथा लेखक केदारबहादुर थापाले स्थानीय इतिहास लेखन सजिलो काम नभएको उल्लेख गर्दै यस्ता अनुसन्धानका लागि वर्षौंसम्म धैर्य, तथ्यको खोज, प्रमाणको परीक्षण र स्थानीय समाजसँगको निरन्तर संवाद आवश्यक पर्ने बताए ।

पुस्तकले भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा इतिहास अध्ययन गर्नेहरूका लागि भरपर्दो सन्दर्भ सामग्रीको भूमिका खेल्ने उनको विश्वास थियो । आर्किटेक्ट तथा शोधार्थी सृजना प्रजापतिले ताथलीका मठमन्दिर, पाटीपौवा, परम्परागत बस्ती, शिलालेख, मूर्तिकला र सांस्कृतिक सम्पदाको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक प्रकाशन अपरिहार्य भएको बताइन् । विकासको नाममा सम्पदाको मौलिकता नष्ट हुन नदिन यस्ता दस्तावेजले महत्त्वपूर्ण मार्गदर्शन गर्ने उनको भनाइ थियो। उनले पुस्तकले भक्तपुर र ताथलीबीचको ऐतिहासिक सम्बन्धलाई पनि प्रमाणसहित प्रस्तुत गरेको उल्लेख गरिन् । शुभकामना मन्तव्यका क्रममा ताथली साकोसका अध्यक्ष एकबहादुर खत्रीले पुस्तक प्रकाशनलाई ताथलीवासीका लागि गौरवको विषय भएको बताए। इतिहास र संस्कृतिको चेतना पुस्तान्तरण गर्ने सबैभन्दा प्रभावकारी माध्यम पुस्तक नै भएको उनको भनाइ थियो ।

नेपाल मजदुर किसान पार्टी ताथलीका राजाराम छुकांले पुस्तक किनेर राख्ने वस्तु नभई पढ्ने, बुझ्ने र आफ्ना सन्तानलाई पनि पढ्न दिने सांस्कृतिक सम्पत्ति भएको बताए। उनले पुस्तक हरेक घरमा पुग्नुपर्ने, विद्यालय र पुस्तकालयमा अनिवार्य रूपमा राखिनुपर्ने तथा नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने माध्यम बन्नुपर्नेमा जोड दिए । पुस्तकका लेखक तथा अनुसन्धानकर्ता हरिसुन्दर छुकांले ताथलीजस्तो ऐतिहासिक बस्तीबारे समग्र अध्ययन अभावकै कारण आफूले लामो समयदेखि अनुसन्धान थालेको बताए। उनले पुराना अभिलेख, शिलालेख, धार्मिक स्थल, पुरातात्त्विक अवशेष, जनश्रुति, स्थानीय अग्रजसँगका संवाद तथा प्रकाशित–अप्रकाशित सामग्रीको अध्ययन गरेर पुस्तक तयार पारेको बताए। उनका अनुसार यो पुस्तक एउटा अन्तिम निष्कर्ष होइन, बरु ताथलीबारे थप अनुसन्धान र बहसको सुरुआत हो ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले स्थानीय सरकारको जिम्मेवारी सडक र भवन निर्माणमा मात्र सीमित नरही इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा पनि उत्तिकै केन्द्रित हुनुपर्ने बताइन् । यही सोचका साथ वडा कार्यालयले स्थानीय सम्पदाको अभिलेखीकरणलाई प्राथमिकता दिँदै पुस्तक प्रकाशन गरेको उनले जानकारी गराइन् । वडा सचिव सपना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, अनुसन्धानकर्ता, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। ’ताथलीः भूगोलदेखि लोकसंस्कृतिसम्म’ ताथलीको मात्र होइन, समग्र भक्तपुरको स्थानीय इतिहास लेखनमा एउटा महत्वपूर्ण माइलस्टोनका रूपमा स्थापित हुने वक्ताहरूको भनाइ छ ।

लेखक छुकांका यसअघि गजलसङ्ग्रह’ हस्ताक्षरभित्रका अक्षरहरू., ’चित्रजस्तो देशझ(बाल कवितासङ्ग्रह ),‘नगरकोटः किंवदन्ती, इतिहास र अभिलेखझ पुस्तक प्रकाशित भइसकेको छ । ताथली: भूगोलदेखि लोकसंस्कृतिसम्म उनको चौथो प्रकाशन हो ।