• २०८३ श्रावण २४, आईतवार

तीन साहित्यकारलाई घुम्ती साहित्य सम्मान प्रदान गरिने

काठमाडौं ।

घुम्ती कवि गोष्ठी नेपालले तीन जना साहित्यकारलाई विभिन्न साहित्यिक सम्मान प्रदान गर्ने भएको छ । संस्थाको कार्यसमिति बैठकले साहित्यकार ठाकुर शर्मा भण्डारीलाई घुम्ती बलभद्र टेक कुमारी छन्द साधना सम्मान- २०८३, वेदमणि घिमिरेलाई घुम्ती नालाङ्ग काव्य सम्मान-२०८३ र चन्द्रा न्यौपानेलाई घुम्ती रमा बद्री काव्य सम्मान-२०८३ प्रदान गर्ने निर्णय गरेको हो ।

सम्मानका लागि प्रतिभा छनोट गर्न गठित समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको संस्थाले जनाएको छ । साहित्यकार दुर्गा अधिकारी ‘भमरकोटे’को संयोजकत्वमा संस्थाका कोषाध्यक्ष रामचन्द्र दाहाल र साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिले नाम सिफारिस गरेको थियो ।

संस्थाका अनुसार यी सम्मानहरू अध्यक्ष माधवलाल श्रेष्ठ, उपाध्यक्ष त्रिलोचन आचार्य र सदस्य विमल अर्यालले स्थापना गरेका हुन् । प्रत्येक सम्मानमा नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने घुम्ती कवि गोष्ठी नेपालका पूर्वअध्यक्ष परशुराम परासरले जानकारी दिए ।

सम्मान आगामी भदौ १४ गते आइतबार संस्थाको तेस्रो साधारणसभाको अवसरमा प्रदान गरिने संस्थाका सचिव घनश्याम प्रसाईंले बताए । घुम्ती कवि गोष्ठी नेपालले विगत १४ वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार विभिन्न स्थानमा पुगेर घुम्ती कवि गोष्ठी आयोजना गर्दै आएको छ । संस्थाले साहित्यिक सिर्जना, कवि-साहित्यकारको सम्मान तथा साहित्यिक गतिविधि विस्तारमा निरन्तर काम गर्दै आएको जनाएको छ ।