• २०८१ असोज २४ बिहीबार

जुनेली

इन्द्रेणी शर्मा जलद

इन्द्रेणी शर्मा जलद

अम्बाबोटे सहिलाकी छोरी जुनेली अचानक गाउँबाट हराई । गाउँ ठाउँमा उसको खूबै चर्चा हुन्थ्यो । उसका आमाबाबाका आँखा ओभाना छैनन् । धेरै ठाउँमा खोजी गरियो । कुनै जानकारी नपाए पछि प्रहरी चौकीमा जुनेलीका परिवारले उजुरी दिएका थिए । दिन बित्यो महिना बित्यो । विस्तारै छोरीको पिर र पिडा सेलाउँदै गयो । तर दिन रात छिमेकीले उसका बारेमा गरे भनेका कुराले छोरीको त्यो निर्दयी अतीत शैतानझैं अगाडि उभिन्थ्यो । आँखा रसाउँछन् बुढी बुढाले एक अर्कालाई सम्झाउँछन् । विवाह गर्ने उमेरकी छोरी हराउनु सन्तानको निम्ति कति दुःखदायी पीडा थियो उनीहरूलाई नै थियो ।
गाउँ छोडेर भूमिगत भएकी जुनेली शहरकी नामुद कलाकार बनिछे । उसको कहानी सुन्दा अचम्म मान्नु पर्ने हुन्छ । आफ्ना साथी संगीको जमघटमा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदा सुनाएकी थिई ।
उसले आफ्नो अतीत यसरी सुनाउँदै गई । मानौँ उसले सिनेमाको कथा सुनाउँदै छे ।
म गाउँले युवती हुँ । मेरो गाउँमा एकजना भलाद्मी मानिससँग उठबस गर्दा उनले मलाई सुटुक्क शहरमा ल्याए । उनका आफन्त कलाकार रहेछन् । यौटी किशोरी को खोजी भएको रहेछ । राम्रो जिउडालकी मेहनती इमान्दार हुनु पर्ने हुँदा मलाई सम्झेछन् । एकदिन वस्तु भाऊ चराउन जाँदा हाम्रोे कुराकानी भयो । घरको अवस्था एकदमै नाजुक थियो । भाइ बहिनी साना थिए ।
आमा अर्काको मेलापात जानु हुन्थ्यो । आएको ज्याला मजदूरी बाबाले खोसेर जाँड रक्सी पिएर उल्टै हामीलाई पिट्नु हुन्थ्यो । धेरै सहें आखिर एकदिन सुटुक्क घरबाट निस्किएर उनैको पछि लागेर आएकी हुँ । धेरै तालीम लिएँ ।कलेज पढेँ । नर्स बन्ने सपना बोकेर हिँडेको थिएँ । नर्स होइन कलाकार बन्नू मेरो बाध्यता थियो । समयले मलाई राम्रो मान्छे बनायो । अफसोच मैले आफ्नो घर परिवार भाइ बहिनीलाई छोडें । आफ्नो स्वार्थ मात्र हेर्नु मेरो बाध्यता पनि थियो । घर मुली ठीक नभए घरको अवस्था एकदमै बिग्रिन बेर लाग्दैन । बाबाको कारण म घरबाट निस्किएर आएकी हुँ । अब मैले आफ्नो परिचय र जिम्मवारी पूरा गर्नु पर्छ ।
उसकाआँखा रसाए साथीहरूले सम्झाएँ ।
ऊ आज आफ्नो घर जाँदैछे । साथमा उसकी मिल्ने साथी थिई रूपा । रूपा पनि यसरी नै भागेर आएकी थिई बल्ल आफ्नो गुनासो दुखेसो पोख्दै बाटो लागे ।
बस्ती सुनसान थियो । आफू खाई खेलेको ठाउँ देख्दा विरक्त लागेर आउँछ । त्यो संझना मानसपटलमा चलचित्र झैं देखिन थाल्छ । आफ्नो बाल्य अवस्थामा गरेका रमाइला कुराहरू दुलाहा दुलहीको नाटक, चोर बिरालो माखे साङ्लो, डन्डी बियो लुकामारी खेल्दै भागेका कुरा सम्झिछे । चौतारी नजीक गाउँले आइमाईहरू कुराकानी गर्छन् । जुनेलीको कुरा गर्छन् रूपाको दाइसँग झगडा भएर भागेको कुरा गर्दा दुवैको आँखा रसाउँछ पानीको कलधारामा पानी पिउछन् । ती महिलाहरूले दुबै किशोरीलाई नियाली रहेका थिए “के हेर्नु भएको हो चिन्नु हुन्छ हामीलाई ? “रूपाले सोधी,
के गर्नु नानी वर्षौं भइसक्यो हाम्रा गाउँका दुई बालिका लापत्ता भए अझैं थाहा छैन जिउँदा छन् या केही भए । त्यो बेला देशमा राजनीतिको अँध्यारो पाटोले समाज थला परेको थियो । संकाले भन्नु पर्दा उनीहरू जङ्गल तीर हराए होलान् ।
आज गाउँमा खुशी छाएको छ भूमिगत भएका दुबै चेली रूपा र जुनेली को भव्य रूपमा स्वागत् गरिएको छ ।
दुवैले आफ्नो प्रस्तुति र कहानी सुनाए सबैका आँखा रसाएका थिए । गाउँले नरनारीहरू र आ आफ्ना घरमा यो कहानी धेरै बर्ष सम्म सुनाई रहे । रूपा र जुनेली परिवारलाई समाजले हेर्ने दृष्टिकोण बदलिएको थियो ।


इन्द्रेणी शर्मा जलद, लन्डन बेलायत
[email protected]