• २०८१ श्रावाण ११ शुक्रबार

बोन्डी बिचकी प्रेयसी

भोजराज न्यौपाने

भोजराज न्यौपाने

कसरी भनूँ
तिम्रो केशराशिको स्पर्शमा के थियो ?

तिम्रो नयन
तिम्रो मुस्कान
तिम्रा गुलाबी ओठ
कसरी बनेका छन् ती ?

अग्लो झरनाको पानी
घामको प्रकाशमा चम्किएजस्तै
जब चम्किदिन्छ्यौ तिमी– मेरो आँखामा
म मैनबत्तीझै पग्लिदिन्छु
तप्तप् !

बोन्डी बिचमा
जब तिमीलाई देखेँ स्निग्ध र कञ्चन
अडिएको थिएन
तिम्रो शरीरमा पानीको थोपा
खुल्ला छातीमा थिएन
कुनै बन्धन ।

कति भाग्यमानी थियो त्यहाँको बादल
कति माग्यमानी थियो त्यो आकाश
जहाँ तिमीलाई ‘मस्तमस्त’ देख्दै थियो ।

एक निमेषमैं मलाई अर्कै बनाउने के थियो जादु ?
म प्रेम गर्छु तिमीसँग
तिम्रो मोहक सुगन्धमा
म यति प्रेमिल भएँ कि
लाग्छ तिमीसँग
पागल बन्नु पनि प्रेम नै त हो ।