• २०८२ बैशाख ७ आइतबार

चङ्गा–चेट

कल्पना सुवेदी

कल्पना सुवेदी

कसरी तिमीले उडायौ
धक फुकाएर
मेरो मनको
माड लगाइएको
लट्टाईको धागो अनि
रङ्गीबिरङ्गी चङ्गा
माथिमाथि आकाशमा
हो म यसरी नै
उड्न चाहन्छु
तिम्रा विश्वासका
प्रेमिल धागाहरूसँगै
जो लट्टाईमा बेरिएका छन्

तिमीले दायाँ–बायाँ गर्दा
निडर लहराउँछु
तिमीले तलमाथि गर्दा
एक्रोफोबिया भए पनि
एक नासले उडिरहन्छु
ता कि जिन्दगीमा तिमीलाई
जेलिएका गाँठाहरू खोल्नु नपरोस्
जीवनका लट्टाई बटार्नु नपरोस्
उडान सधैँ
माथिमाथि
आकाशमा नै होस्
कहिल्यै मनको
चङ्गा चेट नहोस् ।
(सुवेदी विगत दुई दशकयता कविता र गजल विधामा कलम चलाउँदै आएकी स्रष्टा हुन् ।)

[email protected]