• २०८३ आश्विन ३, शनिबार

सुशिला शर्मा “शिलु”का चार कविताहरू

सुशिला शर्मा

सुशिला शर्मा "शिलु"

१.  बदलिएको पर्व !!

कैदखानाबाट भागेको मृगझैँ,
युद्धमैदानबाट ज्यान बचाएर
निस्किएको सिपाहीझैँ,
अनेक चाडमा निस्किए
केही थान नारीहरू तामझामको
फोटो लिएर,
फेसबुकका भित्ताभरि ।

सायद सीमापार नभएको भए
चाडमा केही थान आफ्नैको कचकचले
कपाल कोर्न भ्याउँथे कि भ्याउँथेनन्,
धन्न समुद्रपार छन् र
वान पिस, टु पिसमा वर्षभरि अनि
चाडमा सबैभन्दा पहिले
सारीमा झुल्किन
पाएका रहेछन् !!

२. विपत्ति ।।

उनी देशभित्र श्रम पोखाउँछु भनेर
कतै सीमापार नगएकी राधा,
सधैँ पढाइमा अब्बल। के गर्नु, नियतिको
खेल, केटा राम्रो भनेर छिटै बिहे गरि
पठाए, विरोध गर्ने आँट थिएन ।

कमाइले पराइको
मन किन्न सकिनन्,
आफ्नैले बोझ पन्छाए ।

आज वर्षौं पछि आमाको
चाउरी परेको मुहार खुसी पार्न
जान त मन थियो, तर
आमा बाहेकलाई दुःख दिन मन
लागेन अनि भनिदिइन्-
आमा, यो पटक बाढीको विपत्तिले
केही गर्न मन छैन, देश रोएको
बेला म आउँदिनँ ।

तर यथार्थमा उनको मनमा
त्यस्तो बाढी धेरै पहिले
गएको थियो ।
भित्र अर्को डर थियो-
मेरो उपस्थितिले
आमाको जिउने
परिवेश नभत्कियोस् ।

३.  कर्तव्यबोध !!

कर्तव्यबोध भयो र त औँसीमा
ज्वरोले छेक्न सकेन,
माया लाग्यो र त मनलाई
हाकिमको गालीले रोक्न सकेन ।

तर तीज मेरो खुसी
निम्ता आयो,
म भ्याउँदिनँ भन्न के आँटेको मात्र थिएँ,
उताबाट केही आवाज सुनिएन ।

तर खै किन हो,
दिनभरि मोबाइल मात्र
खोजिरह्यो आँखाले !!

लागिरह्यो, फेरिएछ-
कर्तव्य र माया एकतर्फी भएपछि
म एकोहोरो प्रेमी,
यति त तड्पिनै पर्छ ।।

४. फेरिएको पर्व र अभिनय !!

उमेरसँगै पर्व हराउने रहेछ
एउटी नारीको,
खुसी बिरलै पाइने वस्तु
बन्ने रहेछ, आफूलाई मनबाटै
माया गर्ने आमाको शक्ति कम
भएसँगै ।

हुन त पूरा जीवन पितृसत्ताको
दास भएर सकिएका उनका शक्तिहरू
म महसुस गर्न सक्छु ।

धन्न मलाई भेट्न नपाई
सुरुमै भन्ने गर्छिन्-
योपटक त आउनु पर्छ है,
समयमै ।

होइन, यो आमाको मुटु केले बनेको
छ हँ ?
कोशिकाले कि फलामले ?

मेरो जति पनि आँसु देखाउदिनन्,
आफ्नो माइती छैन कहिले
भन्दिनन्,
तागत सकियो पनि भन्दिनन् ।
भेटेसी सधैँ भन्छिन्-
तिमी कहिले आउने ?

उमेरसँगै चाड बदलियो, आमा ।
अब म दुःख दिन सक्दिनँ भन्न
पनि सकिँदैन र उनीजस्तै
अभिनयमै भनिदिन्छु-
यो पटक आउन पाइनँ आमा,
त्यति सन्चो पनि छैन ।

अनि फेरि घरमा
सबैको भुँडीको कोलाहल
अन्त्य गर्न लागि पर्छु अहोरात्र ।।


सुशिला शर्मा “शिलु”