खाम भेटिनँ
र कागजमा बेरेर
एउटा चिट्ठी पठा’को छु
बुझेर पढ्नु ल !
चिट्ठीसँगै
झुनाको रूमालमा
मायालु गुलाब
र एकजोर झुम्का
मोरेर राखेको छु
झिकेर लाउनु ल !
माया त यस्तै त हुन्छ नि
कहिले कागजमा बेरिएर आउँछ
र हातैमा पर्छ
कहिले रूमालमा मोरिएर आउँछ
र माथैमा चढ्छ
बेरिएको मायालाई
बिस्तारै फुकाउनुपर्छ
नत्र त गाँठो पो पर्छ त
मोरिएको मायालाई
हलुका हातले उघार्नुपर्छ
नत्र माटोमा झर्छ त !
तिमीले पठाएको
हवाईखाम पाएँ
तर
धेरै दिन भएर होला
पेन्सिलले लेखेका अक्षर र’छन्
उडिसकेका थिए
पढ्न सकिनँ !
अक्षरलाई जोड्न
तानिएका डिकोहरू
चुँडिसकेका थिए
शब्दलाई बुझ्न सकिनँ !
त्यही भएर
जवाफमा
खाली पाना पठा’को छु
मन लागेको कुरा लेख्नू
कहिलेकाहीँ त
आफ्नो पत्रको उत्तर
आफैँ लेख्नुमा पनि मजा हुन्छ
कल्पनामा गरिएका
मायाका नखराहरू
सधैँसधैँ ताजा हुन्छ ।
मायामा हुने नै यस्तै हो, नीलिमा
कहिलेकाहीँ शब्द बुझिन्छन्
तर अर्थ बुझिन्नन्
मनहरू बोल्छन्
तर आवाज सुनिन्नन्
सबै कुरा
बोलेर मात्र कहाँ भनिन्छ र
सबै दृश्य
हेरेर मात्र कहाँ देखिन्छ र
तिम्रो मनमा के चलिरा’छ
बुझ्न सक्छु
तर देख्न सक्दिनँ
तिम्रो आँखाले के भनिरा’छ
पढ्न सक्छु
तर सुन्न सक्दिनँ ।
मायामै त हो–
नदेखिएका कुरा पनि
आफ्ना लाग्छन्
नबुझिएका कुरा पनि
प्रस्ट हुन्छन्
तिमी त भन्थ्यौ
जेजे हुन्छ
देखिने गरी हुनु नि
जेजे गर्छौ
मलाई मात्र मनपर्ने गर्नु नि !
नीलिमा,
देखाउनकै लागि भनेर
माया पनि
ब्यानर बोकेर आउँछ र ?
मायामा पनि
तिमीलाई मात्र मन पर्ने
म्यानर हुन्छ र ?
मायामा त घुक्र्याइ पनि हुन्छ
त्यसैले त चखिलो हुन्छ
मायामा त मुख्र्याइँ पनि हुन्छ
त्यसैले त आँटिलो हुन्छ
आँट छैन भने
मायाको कुरा नगर्नू
मायामा बुद्ध मात्र हुन्न
युद्ध पनि हुन्छ
मायामा शान्ति मात्र हुन्न
क्रान्ति पनि हुन्छ
मायामा त यस्तो पनि हुन्छ –
वेलावेलामा यसले सीमा मिच्छ
र रहरलाई थिच्छ
आफैँ प्रेमिल युद्धको घोषणा गर्छ
र संसारलाई जित्छ
तर नबिर्सनु
संसार जित्नेले पनि
घरमा चैं हारेको हुन्छ
आफैँले जोगाउन नजानेर नै
माया पनि
हिंसामा परेको हुन्छ !
तर मायालाई
भारी चैँ नबनाउनू ल
मायालाई
स्वच्छन्द गतिमा नचलाउनू ल
मायाको भारी बोक्न नसक्दा
धेरैले कुप्रिनु परेको छ
मायाको गति रोक्न नसक्दा
धेरैले टुक्रिनु परेको छ !
कहाँ सजिलो छ र माया
यसले त तिमीलाई
पिर्नु पो पर्छ त
कहाँ सित्तैमा पाइन्छ र माया
यसलाई त तिमीले
तिर्नु पो पर्छ त !
वेलाबखत सुनिन्न यसलाई
त्यस्तो वेलामा
मान्छेसँग हैन
मनसँग बोल्नू
कहिलेकाहीँ देखिन्न यसलाई
त्यस्तो वेलामा
अनुहारमा हैन
आँखामा हेर्नू
झुकेको आँखामा
मायाको रङ हुन्छ
सुनसान मनमा
मायाको तरङ्ग हुन्छ ।
(कट्टेल चर्चित साहित्यकार हुन् ।)
[email protected]