• २०८१ असोज २८ सोमबार

एक चिकित्सक

डम्बर बिकेल

डम्बर बिकेल

हरायो पूर्णिमा
औँसी छाएको छ छातीमा
बिलायो वसन्त
आएको छ शिशिर छातीमा
कहाँ गयो हरियाली ?
भेटिएको छ मरूभूमि छातीमा
कहाँ गए परेवा ?
छाएको छ अशान्ति छातीमा
हो, आमा ! छौ तिमी, जीवन र मरणको दोसाँधमा

छियाछिया बन्दछौ कहिले
भूकम्प गएर छातीमा
हुरहुरी जल्दछौ कहिले
ज्वालामुखी गएर छातीमा
बिरूप देखिन्छौ कहिले
बाढी आएर छातीमा
कुरूप भेटिन्छौ कहिले
भूक्षय भएर छातीमा
हो, आमा ! छौ तिमी, स्वर्ग र नर्कको दोसाँधमा

होइन आमा त्यतिमात्रै,
भएको छ भ्रष्टाचार तिम्रो छातीमा
छातीमा बढेको छ घुसखोरी
लाइएको छ डढेलो तिम्रो छातीमा
छातीमा छरिएको छ दुर्गन्ध
नाचेका छन् मुर्कट्टाहरू तिम्रो छातीमा
छातीमा छाएको छ अशान्ति
हो, आमा ! भएको छ तिम्रै छाती बलात्कृत

पुछ्न तिम्रो बलात्कृत आँसु
माटोमा रोपेर उन्नतिको बिज
बालेर माटोमा शान्तिको दीप
फुलाउनु छ विकासको फूल
मगमग बास्ना चलाएर फूलको
अनि मात्रा बढाएर अक्सिजनको
छाती भित्र पुर्याएर, बनाउनु छ
तिम्रो फोक्सो स्वस्थ

रूप धारण गरी भाइरसको
आएको छ भ्रष्टाचार
बढेको छ घुसखोरी
लागेको छ डढेलो
छरिएको छ दुर्गन्ध
नाचेका छन् मुर्कट्टाहरू
छाएको छ अशान्ति
अनि भएको छ बलात्कार
हो, आमा !  गरेको छ आक्रमण
तिम्रो फोक्सोमा कोरोनाले

जिम्मेवारी छ मेरो काँधमा
भाइरस मुक्त तिम्रो फोक्सो निर्माण गर्ने
त्यसैले, आएको छु
शिरमा ढाकाटोपी
हातमा चन्द्रसूर्य झन्डा बोकी
हो, धरतीमाता !
आएको छु, तिम्रो सन्तान
बनेर एक चिकित्सक


डम्बर बिकेल
[email protected]