काठमाडौं ।
वरिष्ठ पत्रकार तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को पहिलो निबन्धकृतिको दोस्रो संस्करण २६ वर्षपछि प्रकाशन आएको छ । रोदनको पहिलो एकल निबन्धकृति ‘अर्थहीन अर्थहरू’ पुनः प्रकाशनमा आएको हो ।
“मेरो २६ वर्ष पहिले प्रकाशित भएको पहिलो निबन्धसङ्ग्रह ‘अर्थहीन अर्थहरु’ को पुनः प्रकाशित भएको छ ।”, रोदन २६ वर्षअघिको स्मृतिमा पुगेर भन्छन्, “त्यतिबेला मप्रति विश्वास गर्नुभएर आदरणीय गीतकार वसन्त चौधरी दाइले यो सङ्ग्रहको प्रकाशन गरिदिनुभएको थियो । आदरणीय अग्रज कवि तुलसी दिवस दाइले मलाई माया गर्नुभएर आफ्नै घरमा भव्य विमोचन गरिदिनुभएको थियो ।”
२०५४ सालमा पहिलोपटक प्रकाशित यस निबन्धसङ्ग्रहले २०५५ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्राप्त गरेको थियो । श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा प्रकाशित यस संग्रहमा रोदनका २१ निबन्धहरू समावेश छन् ।