• २०८१ मंसिर २९ शनिवार

कता छौ, आजकल ?

बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेल

भरखरै उठेर
मन तातो पानी पिउँदै थिएँ
उनी टुप्लुक्क आइ पुगे
पिउँदा पिउँदैको पानी छाडेर
उनलाई चिया बनाएर दिएँ
यो पटक अलिक बढी नै चिनी राखेर
पिउन्जेल त केही बोलेनन्
सकिएपछि त्यही वचन लगाए
जुन लगाउने गर्थे
जिउभरी
अमिलो बोकी हिड्नेलाई
चियाको गुलियोले पनि केही नगर्नेरहेछ ।

हिजो रामकोटको
राम काइँलो आएको थियो
माग्दैथ्यो अर्को फोटो
पहिलेका सबै हरायो रे
मैले दिईंनँ
भनेँ – फोटोलाई बालुवा जस्तै नछर
सम्हाल्न तिमीलाई नै गाह्रो हुन्छ
फोटो समेत जतन गर्न नसक्नेलाई
विश्वास गर्न गार्हो हुनेरहेछ ।

लोकन्थलीको लोकेन्द्र पनि
माग्दैथ्यो अर्को तस्वीर
पठाईनँ
भनेँ – दिएका त सम्हालेनौ
मसँग भएको त्यो एउटा पनि दिएँ भनेँ
त्यसले त तिमीलाई माटोमा मिलाइदिन्छ
बुझ्नेले त बुझिहाल्छ नि
एउटा तस्वीरमा कति शक्ति हुन्छ !

यस्ता धेरै कुरा
जम्मा भएर बसेका छन् मन भरी
तिमीसँग गर्नको लागि
कुरालाई पूरा पनि नभएको
र अधुरो पनि नरहेको
सपना जस्तो किन बनाउनु ?
आऊ न एकपटक
कुरा गरौँ
तर आउँदा एक्लै आउनु
तिमी त जहाँजाँदा पनि
साथी नलिई हिँड्दै हिँड्दैनौ !
आउनुअघि
यति त भन –
कता छौ, आजकल ?
ठाउँ थाहा भयो भने
आइपुग्नलाई कति समय लाग्छ
अनुमान गर्न सजिलो हुन्छ नि !

उनको प्रश्नको
लामो जवाफ लेखिनँ मैले-
यति भनेँ –
म पनि साह्रै व्यस्त छु
भैसेपाटीकी भिमकुमारीले
सित्तैमा माया बाँड्दैछिन्
भन्ने सुनेको दिनदेखि
कचौरा बोकेर
उनको घरको ढोका बाहिर
आँखा पनि नझिक्याइ कुरिराको छु !


बालकृष्ण कट्टेल