• २०८१ भाद्र २६ बुधबार

सान फ्रान्सिस्कोमा हाइकु संग्रह ‘सोली डोली’विमोचन

सानफ्रान्सिस्को (अमेरिका) ।

सान फ्रान्सिस्कोमा भएको एउटा कार्यक्रममा साहित्यकार सुरेशकुमार भट्टको कृति ‘सोली डोली’ विमोचन गरिएको छ । भट्टले हाइकुमा रचना गरेको यो लोकवेद हालै प्रकाशनमा आएको कृति हो । ‘सोली डोलीमा’ साँढे तीन हजार हाइकुहरुको संग्रह हो । विकल्प फाउन्डेसन, लायन्स क्लव अफ बर्कली लाली गुराँस, समुन्द्रपारिका मन र यशोभानु साहित्य संगीत प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार भट्टले समाजकै विषयवस्तुलाई आफ्नो रचनामा समेटेको बताए । उनकाकर्खा, उखान टुक्का र गाथामा पनि हाइकु मिल्ने भएकोले यसलाई जापानी शैलीमात्रै हो भन्नु नपर्ने बताए । पाठकलाई विषयवस्तु अनुसारको अध्ययनमा सजिलो होस् भन्ने उद्देश्यले पर्वमा विभक्त गरिएर रचना प्रकाशित गरिएको जानकारी पनि उनले दिए ।

नेपाली साहित्यमा पहिलो पटक शंकर लामिछानेले पारिजातद्वारा लिखित शिरिषको फूलको भूमिका लेख्दा हाइकु प्रयोग गरेको पनि साहित्यकार भट्टले बताए । आफूलाई लोकसाहित्यमा रुचि भएको र हाईकु पनि लोक साहित्यसँग मिल्ने भएकोले यसमा योगदान गर्न सकेको उनको भनाई छ ।सोली डोली कृतिमाथी टिप्पणी गर्दै युनिभर्सिटी अफ क्यालिफोर्नियाका एशोसियट प्रोफेसर डा. टिका लम्सालले हाइकुको प्रयोग नेपालको सामाजिक परिवेशमा प्रयोग गरेर समाजका विषयलाई पुस्तकाकार गर्नु कठिन काम भएको बताए ।

कार्यक्रममा साहित्यकार भट्टलाई न्यान्सका अध्यक्ष प्रितेश कार्की, लायन्स क्लव अफ बर्कली लाली गुराँस राजेन थापा, साहित्यकार रितादेवी प्रधान, विकल्प फाउन्डेसनका अध्यक्ष निर्मल फूयाँल, यशोभानु साहित्य संगीत प्रतिष्ठानका सस्थापक नारायण भट्टराईलगायतले सम्मान गरेका थिए ।