• २०८२ जेठ ४ शनिवार

मेरो मायाको नयाँ संस्करण

 बैरागी काइँला

बैरागी काइँला

धेरै अघि मेरो हजुर-
ताराको पथमा डुलाउँला
सपनाझैँ स्वर्गमा लैजाउँला
अमृतका कणकण पिलाएर
अमर इतिहासमा बनाउँला..

…यी प्रतिज्ञा मैले गरेको थिएँ ।

ती सब भूल थिए कि
मेनाकाको यौवन दिलाउँला भनेको थिएँ !

तर, अब त यति ढुक्क हुन सक्छुः
कि म यस धरतीको मानिस
यहाँको गुलाबमा फुलेको मानिस,

हजुरलाई……..
सारी किनिदिनु सक्छु,
होटल लगी खुवाउनु सक्छु
चौरास्ताको बाटो ठुलाउँन सक्छु,
सत्यवान भइदिन सक्छु, चरित्रवान् भइदिन सक्छु,
म हजुरलाई……..
बाँचुञ्जेलसम्म माया गर्न सक्छु,

स्वर्गको उडानमा मैले
घरकै सिढी उक्लन बिर्सिएछु !
अमरत्वको भरममा मैले
झण्डै बाँच्न नै बिर्सिएछु !

मेरो धरतीलाई धेरै रुवाएछु !
मैले मानिसको हृदयको अपमान गरेछु
तर अब त यति ढुक्क भई भन्न सक्छुः

कि म यस धरतीको मानिस
यहाँको गुलाबमा फुलेको मानिस

हजुरलाई……..
कालिदासको शकुन्तला बनाउन सक्छु,
भरतझैँ विभूतिको आमा बनाउन सक्छु,

पराजय पनि स्वीकार गर्ने मानिस
माया पनि गर्ने मानिस
मानिस हुँ भइदिन सक्छु !
म हजुरलाई……..
बाँचुञ्जेलसम्म रक्षा गर्न सक्छु !

यसरी
पहिलेका भूल संशोधन गरी
मेरो कविताको भर्खरै प्रकाशित कितापजस्तो
यो हजुरको टेबलको फूलदानमा
बिहानै फेरेर राखेको नयाँ फूलजस्तो

मेरो मायाको नयाँ संस्करण
यी दुई आँखाका
ट्रेमा लिएर आएको छु !

जहाँ हजुरले मलाई
र मैले हजुरलाई
सधैँ- सधैँ पाएको छु !

 


बैरागी काइँला
(बैरागी काइँलाका कविताहरू)