• २०८१ भाद्र २७ बिहीबार

बैरागी काइँलाको ‘तङ्सिङतक्मा मुन्धुम’पुस्तक प्रकाशित

काठमाडौँ  ।

लिम्बू जातिको सामाजिक, नैतिक र धार्मिक धारणाहरूको समग्र अनुष्ठानलाई मुन्धुमविद् बैरागी काइँलाले ‘तङ्सिङ तक्मामुन्धुम’ (आख्यान, अनुष्ठान र विधिविधान) पुस्तकद्वारा प्रकाशित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले २७ वर्षपछि दोस्रो संस्करण प्रकाशित गरेको हो । लिम्बू जातिको सामाजिक, नैतिक र धार्मिक धारणाहरूको समग्र अनुष्ठानलाई तङ्सिङ मुन्धुम भनिन्छ ।

सबै मनुष्य, घरपरिवार र सामाजको सुख–समृद्धिका लागि गरिने सामाजिक मेलमिलाप वा ऐक्यवद्धताको पारिवारिक अनुष्ठान कार्य नै तङ्सिङ मुन्धुम हो । लिम्बू समुदायमा वर्षमा एक पटक अथवा अनुकूल समय मिलाएर तीनवर्षमा एक पटक तङ्सिङ मुन्धुम अनुष्ठानको आयोजना गर्दछन् । साम्बा र येबाहरूले तीन रात, तीन दिनसम्म विधिपूर्वक तङ्सिङ मुन्धुम गाउँछन् । तङ्सिङ मुन्धुमगरिदा ब्रह्माण्डको सृष्टि, पृथ्वी, जीवजगत, चराचर र मान्छेको सृष्टिको कथाको पाठ गाइन्छ । मान्छे, परिवार र समाजको विकास, लोभलालच, आँखी–डाही र पापाचार–दुराचारको जन्म, भूत–प्रेत तथा अनेक अनिष्टकारी देवीदेवताहरूको जन्मको कथा गायन–वाचन गरिन्छ ।

घरको कुनै सदस्यको मृत्युपछि १३ दिने जुठो बार्ने बेलामा यो तङ्सिङ मुन्धुम गाइन्छ । यसैगरी हरेक पटक उभौलीको याममा कुलवंश सामूहिक भेला भएर खालामागाली सराप (माङ्हुपवादेःम्मा) गर्दा समेत यो मुन्धुम गाइन्छ । प्रतिष्ठानले २०५२ सालमा पहिलो पटक यो मुन्धुम प्रकाशित गरेको थियो । यो मुन्धुमको मूलपाठलाई सिरिजङ्गालिपिमा लिपिबद्ध गरिएको छ भने त्यसैलाई देवनागरी लिपीमा उतारिएको छ र नेपाली अनुवादसमेत गरिएको छ । दोस्रो संस्करणमा मुन्धुम पहिलो संस्करणमा भएका व्याकरण, हिज्जे तथा अर्थलेखन सम्बन्धी कमी कमजोरी समयानुकूल सच्याइएको छ । यसैगरी मूलपाठमा समेत थपघट र परिमार्जन गरिएको जनाइएको छ । ४६४ पृष्ठको यो पुस्तकको मूल्य ५६५ रहेको छ । यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानको बिक्री कक्षबाट प्राप्तगर्न सकिन्छ ।