वसन्तवेला

बत्तीस वर्षीय छविजङ्ग राणाले ९ वर्षीया देवी ठकुरीसँग बिहे गरेर भारतीय सेनामा भर्ती भई भारतको लखनउ गए । त्यस बखत कुनै राणाको छोरा भारतीय सेनामा जानुलाई इज्जतिलो मानिँदैनथ्यो । त्यसैले उनले आफ्नी नौ वर्षे पत्नी देवी ठकुरीकै थर नामका पछाडि झुन्ड्याएर छविजङ्ग ठकुरीका नामले त्यहाँ भर्ती भए । केही वर्षपछि देवीले लखनउकै अस्पतालमा एउटा छोरी जन्माइन्, माया ठकुरी । त्यस वेला छविजङ्गले आफ्नो कुप्रवृत्ति देखाए । देवीले छोरी जन्माई भनेर उनको मुख त हेरेनन् हेरेनन् त्यो नवजात निश्छल छोरीलाई एकपल्ट काखमा सम्म लिएनन्, मुख हेर्नु त परको कुरा ।
माया जबजब हुर्किंदै, बढ्दै गइन् र अलि बुझ्ने भइन्, आफ्नो पिताप्रति उनीभित्र असीम घृणा पलायो । उनले आफ्नो पितालाई आदर गर्न सकिनन् । र, जीवनभरि नै छविजङ्ग छोरीको घृणा बोकेर बसिरहे ।
हुर्किंदै गएपछि मायालाई पनि आफ्ना साथीसँगीहरूसँग काँधमा किताब कापीको झोला बोकेर विद्यालय जान मन थियो तर कसले पढाइदिने । आमाले हाडछाला घोटेर गरेको मिहिनतले पनि छोरी पढाउने खर्च जोहो गर्न सक्तिनँ थिइन् । आमा स्विटर बुनेर जीविका गर्थिन् । अनि खाजा बनाएर डालोमा बोकरे छेउको गोर्खा स्कुलमा लगेर बेच्थिन् । बरा ! त्यसबाट के नै आम्दानी हुन्थ्यो र । दुई छाक छोरीहरूको, त्यसबाट बच्यो भने आफ्नो पेट भर्थिन् ।
तर समाजले आमालाई उनले गरेको मेहनत र उनको शील–स्वभाव बुझेर असाध्य सम्मान गर्थे । गरिबीमा पनि उनले आदर्श र सम्मानको जिन्दगी बाँचिन् ।
उता पिता छविजङ्ग फेरीफेरी भित्रियाहरू बुटुल्थे । तिनीहरूसँग क्रीडा गर्थे । तासजुवा खेल्थे । जाँडपानीमा रमाउँथे । उनले सम्झेर पनि देवी र मायातिर फर्केनन् । नामले देवी भए पनि आमा शक्तिहीन् थिइन् भने माया नामले मात्र माया थिइन् । माया, स्नेह, अभिभावत्व कस्तो हुन्छ भन्ने उनले थाहा पाउनै सकिनन् । मायाले आफ्नो बाल्यकालमा यस्ता अनेकौँ प्रतिकूलता र पिताले गरेका कुकृत्यको रमिता देखेकी छिन् । छविजङ्गको यस्तो चर्तिकलाले आमाको मनका कति लामो सुइरो बिझ्दो हो, माया अहिले अनुमान र कल्पना गर्न सक्छिन् ।
उनीहरू लखनउबाट सर्दै मेघालय बस्न पुगे । त्यहाँ उनीहरू बस्ने एउटा लामो कटेरो थियो उनीहरूको जीवनजस्तै जीर्ण । उनीहरू त्यही कटेरोको भुईंमा ओछ्यान लगाएर सुत्ने । त्यस कटेराको छानामा यति धेरै छिद्रहरू थिए, पानी पर्दा नचुहिने ठाउँ भेट्टाउन असम्भव थियो । अनि पानी दर्केपछि आमाले सबैलाई हुर्पट्टी लगाएर उठाउथिन् । सबै ओछ्यान एउटा कुनामा गृुटुमुटु पारेर घरमा भएका भाँडाहरू हतारहतार टिपेर पानी चुहिने ठाउँमा राख्थे । रातभरि पानी पर्यो भने उनीहरू उँघ्दै भाँडा थापिरहन्थे ।
सानोमा त मायालाई पिताका कारण यो बुहार्तन खेप्नुपर्यो भन्ने बोध भएन । तर उनी ठूली हुँदै गएपछि यस घटनाले उनको मुटु चिर्यो । उनी नौ वर्षकी थिइन् होला, अलिक टाढाको एउटा परिवारले उनलाई तिनका बच्चा हेर्ने काम दिए । यति सानी मायाले तिनका बच्चा हेर्नु पनि एउटा पुतलीको खेलजस्तै थियो । तिनका सन्तानले खाएको खाना, लगाएका लुगा, सानसौकत देख्दा उनको शिशु मस्तिष्कमै पनि एउटा प्रश्न उठ्यो- हामीले चाहिँ यो जीवन किन पाएनौँ ? तिनका बाआमाले तिनलाई पुलपुल्याएका छन्, मुसारेका छन्, हरेक फर्मायसी पूरा गरिदिएका छन् । यो देखेर उनको मन कुँडिन्थ्यो, आँखाबाट नुनिला आँसु झर्थे । हुन त उनलाई पनि कुना सुत्न एउटा ओछ्यान दिएका थिए । माया भन्छिन्- ‘ओछ्यान जस्तोसुकै होस्, केही फरक पर्दो रहेनछ, सबैभन्दा ठूलो त भोक रहेछ । अघाएको पेट छ भने जहाँ पनि निन्द्रा लाग्छ ।’ उनले जीवनमा अनुभव गरेको सबैभन्दा अकाट्य सत्य यही हो- भोको पेटको ज्वाला सबैभन्दा पीडादायी हुन्छ । त्यो उनले पटकपटक व्यहोरिन् ।
मायाले त्यहाँ काम गर्नथालेको एक महिना मात्र भएको थियो । एक दिन परिवारका सबै बाहिर गए । उनले देखिन्- एउटा दराज खुलै थियो । उनले हेरचाह गर्ने केटाकेटीका लुगाले त्यो पूरै दराज भरिएको थियो । उनको बालमस्तिष्कले सोच्यो- घरमा उनकी पनि एउटा सानी बहिनी छे । त्यसको फेरफारे लुगा पनि छैन । अनि हिम्मत गरेर त्यहाँबाट तीन चारवटा फ्रक झिकिन् । भात त यसअघि पनि अरूअरू तिर चोरेर खाएकी थिइन् । यति अटेसमटेस लुगाहरूको चाङबाट यति फ्रक चोर्दा के नै अपराध हुन्छ र भन्ने सोचिन् ! ती फ्रकहरू दराजबाट झिकेर आफू सुत्ने ओछ्यानको सिरानीमुनि लगेर घुसारिन् । थाहा पाउलान् भन्ने पीर त छँदैथियो तर बहिनीको मायाले जे पर्छ व्यहोर्छु भन्ने हिम्मत जगायो ।
भोलिपल्ट झिस्मिसेमै उठेर त्यो लुगाको पोको बोकेर उनी घरतिर दगुरिन् । धेरै हिँडनुपथ्र्यो घर पुग्न । तर फ्रक पाएको खुसीले तो दगुराइले पनि स्याँस्याँ पारेन । घरमा आमा पूजा गर्दै थिइन्, लुगा देखाउन बोलाइन् । आमाले लुगा हेरेर तिनीहरूले दिएका होलान भन्ने अनुमानमा ‘अब तँ भात खाएर जाने होस् ?’ भनेर सोधिन् । उनले ‘आज आउनु पर्दैन भनेका छन्’ भनेर ढाँटिदिइन् । अनि बहिनीलाई लुगा लगाइदिइन् र सुन्दर देखिएकी बहिनीलाई केही बेर एकटकले नियालिरहिन् !
तर यो खुसी, यो हर्ष, यो आनन्द लामो समयसम्म टिक्न सकेन । घरकी मालिक्नी गार्डसहित गाडीमा आइन् र उनलाई च्याप्प समातेर गालामा झ्यामझ्याम चड्कनको वर्षा गरिन् । मायाका आँखाबाट ब्रह्मपुत्रका भेल छचल्किएर बग्न थाले । तिनले आमालाई कडकिँदै भनिन्- ‘तेरी छोरीले मेरो घरबाट नानीहरूका लुगा चोरर ल्याई ।’ आमाले मायालाई गाली गरिनन्, खालि सम्झाइन्- ‘हामी जति नै गरिब, दुःखी भए पनि मैले तलाईं कसैको चोर्नु हुँदैन भने सिकाएको कुरा बिर्सिछ छोरी ! तैले किन यसो गरिस् !’ आमाका आँखामा पनि ब्रह्मपुत्र रसाए ।
त्यस दिन मायाको मुखबाट आफ्नो मनमा जमिरहेको समाज र अभावप्रतिको आक्रोश छतछुल्ल भएर बग्यो । मायाले भनिन्- ‘यिनीहरूको घरमा चाहिँ यति बिघ्न लुगा छन्, हामीले चाहिँ सधैँ टालेको लगाउनुपर्ने ! किन त ?’ ती महिलाले मायाको नेपाली आक्रोश बुझिनन् र ‘यसले के भनेकी हो ?’ भनेर देवी ठकुरीलाई सोधिन् । आमाको अनुवाद सुनेपछि तिनले एउटै प्रश्न सोधिन् मायालाई- ‘तुम पढ्ना चाहती हो ?’ उनले चाहन्छु भनिन् । अनि आमालाई भनिन्- यसलाई स्कुल हालीदिनू, सारा खर्च म व्यहोर्छु ।’ तर यो कुरा त्यत्तिकै फासफुस भयो । उनले पैसा बोकेर आएकी थिइनन्, तिनीकहाँ पैसा माग्न जाने कोही भएन ।
अनि आमा छविजङ्गलाई गुहार्न पुगिन् । छवि त्यस वेला मेघालयमै बस्थे । आमा- छोरीको मुख हेर्न त अभिशाप मान्ने छविले छोरीलाई पढाउने खर्च दिनुभनेको अधर्मै थियो । आमा रित्तो हात पर्किन् । पेटको ज्वालाभन्दा ठूलो सास्ती जीवनमा अर्को हुँदैन भनेर बुझेकी माया छिमेकीका नानीहरू बोकेर डुलाइ दिएबापत कहिले काहीँ एक पेटसम्म अघाउँजी खान पाउँथिन् । तर त्यो खाना पनि उनलाई अभिशापको एउटा उदाहरण नै लाग्छ अहिले सम्झिँदा । घरका लोग्नेमान्छेले खाइसकेपछि श्रीमतीका लागि भनेर थालमा अलिकति पुरो छाड्ने चलन अचेल पनि कतैकतै होला । ती सबै लोग्नेमान्छेले छोडेको जुठोपूरो एउटा थालमा खन्याएर मायालाई भाग लगाइदिन्थे । यसरी सिलाबरको डेक्चीमा उनले अनेकौँको मिश्रित जुठो खाएकी छिन् । मायालाई लाग्छ- भोकले मानिसलाई जे पनि गर्न बाध्य तुल्याउँछ ।
यता आमालाई चामल केलाइदिए बापत छिमेकी महिलाहरूले पुराना चप्पल, जडौरी लुगाफाटा, कनिका दिन्थे । अनि त्यही कनिमा सिस्नु हालेर फत्काएको खाना उनीहरूका लागि राजर्सी भोजन हुन्थ्यो । मायाको बाल्यकाल यस्तै जुठोपुरो र कनिका- सिस्नु खाएर हुर्कियो ।
बढ्दो उमेरसँगै भोक बढ्नु पनि स्वाभाविक थियो । अलि पछि त मायालाई मानिस मर्दा पनि खुसी हुने दिन आए । लास लैजाँदा शङ्ख बजाएर एकएक पैसा र लावा छर्दै घाट लैजान्थे । उनी जामामा त्यो पैसा र लावा बटुल्दै जान्थिन् । मलामीले अलच्छिना भनेर धारेहात पनि लगाउँथे । तर कानका प्वाल टालेर उनी ती सबै कुरा जामामा बटुल्दै जान्थिन् । कसैको गालीको वास्ता थिएन । भोकभन्दा दारुणता अरू केही हुँदैन भन्ने उनले बोध गरिसकेकी थिइन् ।
मगर, गुरुङ, आदि जनजातिका लासहरू चिहानमा लगेर कसैका गाड्थे, कसैका जलाउँथे । उनी रमिता मानेर एउटा डिलमा बसेर त्यो हेरिरहन्थिन् । त्यहाँ कसैले जाँड छोडेका हुन्थे, कसै कसैले भात पनि छोड्थे । अनि उनका लागि त्यो पेटको ज्वाला शान्त गर्ने खान्की हुन्थ्यो । फालेका कपडा बेरेर एक्लै गीत गाउँथिन् । मलामीहरू फर्केपछि उनी ती सारा कुरा खान्थिन्, पिउँथिन् र त्यही चिहानमाथि आछ्यान लगाएर मस्त निदाउँथिन् । यसरी उनको पेटको क्षुधा मेटाउने र विश्राम गर्ने ठाउँ समाधि हुन्थ्यो ।
त्यति वेलासम्म उनी तरुणीजस्ती देखिन थालेकी थिइन् । उनको शरीरमाथि मान्छिका कुदृष्टि पर्न थाले । कसैकसैले त आक्रमणै पनि गर्थे । छरछिमेकीले चकलेट, मिठाइ दिएर फकाउन थाले । कोही कोही त लुगासमेत दिलएर आउँथे । एक दिन घाँस काट्न आएका दुईजना आइमाईहरूले उनलाई बेस्मारी गाली गरे । आमालाई आएर तिनीहरूले छोरीको विषयमा सम्झाए । तिनै महिलाहरूका कारण उनी त्यस वेला बालयौन शोषणबाट बचिन । उनको बाल्यकाल यसरी अभावको रसातलमा भासिएर बित्यो ।
यिनै माया ठकुरी लामो सङ्घर्षको चरण पार गरेर अहिले एक स्थापित साहित्यकार र प्राज्ञ भएकी छिन् । उनका कथा, बालकथा र गीत गरी करिब एक दर्जन सङ्ग्रह प्रकाशित छन् भने आधा दर्जन पुरस्कार र सम्मानहरूबाट सम्माननित छिन् ।
रमण घिमिरे
[email protected]