ऊ पिउँछ र जिउँछ
पिउँदा लाग्छ दार्शनिक हो समयको
पिउँदा लाग्छ ऊ सर्जक हो समयको
लाग्छ भर्खरै उसले समय पिएर आएको छ
र, ऊ चकमन्न लाटो भएर उभिएको छ ।।
नपिउँदा ऊ केही होइन
अभावले डामेको अनुहार हो
हरेकपटक सिमाना हराएको
दसगजाको दुर्गम कमजोर छाती हो
अझ खासमा ऊ धेरैपटक लेख्दै, मेट्दै गरेको
बुढीआमाको
मुजा परेको देशको नक्सा हो
जसको अस्तित्व हरेकपटक इरेजरले मेटाइरहन्छ
र, ऊ चित्रकारको आत्मालाई
पेन्सिलको टुप्पोले घोचिरहन्छ ।
ऊ अर्थात् मेरो देशको युवाशक्ति
भर्खरै विदेशबाट घरदेश फर्किआएको छ
र, परदेश फर्किने अघिल्लो रात
ऊ आमालाई सोधिरहेछ-
‘के म देशमा बसेर बन्दुक बोकूँ ?
कि विदेश पसेर पसिना पोखूँ ?’
(कान्छा चर्चित कवि हुन् ।)
[email protected]