• २०८० मंसिर १५ शुक्रबार

कल्प देखिको मोक्ष भूमि

शोभा काफ्ले खतिवडा

शोभा काफ्ले खतिवडा

कल्प वेद समान छ शुभभूमि
हो धर्तीको स्वर्ग नै !
शैल शिखरले छ सुन्दर अति
मोक्षको सागर झैँ !!
ऋचाका धुनको मिठास हरपल
आइरहेको सँधै !
पालुवा बनका रमाई हरपल
सुवास छर्छन अझै !!

मृत्तिका तन हो, पाहाड धन हो,
हिमाल सुन्दर घर !
यसैमा मन रम्छ हर पल भने
यही देश सुन्दर घर !
नेपालीपनका छन देवलहरू
यो देश सुन्दर घर !!
धर्म संस्कृतिको अपूर्व पनले सजिन्छ देशको अधर !!

हिमचुलीहरूको लगाई गहना
सारी नदीको भिरौ !
कर्मका बलले सजाई भूमिलाई
मायाँ गरेर मरौँ !!
यो देश सुन्दर स्वर्ग सरी छ यही देश सुन्दर घर !
कर्णाली तीरको नेपालभूमि नि
हो स्वर्गको द्वार !!

हाम्रा हर चुचुरा र जङ्गलहरू
भूमङ्गलै मङ्गल !
पानी खानी र खेत फाँटहरूमा
फल्छन अनेकौँ फल !!
यस्तो सुन्दर धर्ती हो घर यही
सुन्दर जीवनको भर
यो भन्दा कुन दिव्य देश मनमा खोजेर भेटिन्छ र !!

आशिर्वाद दिने यी मेरी धरणी
ऐश्वर्य होस हरपल
लक्ष्मीको हरपल मिलेर बरदान
यो देश बनोस जगमग
देशका हर दुःखीको सम्पन्न
ढुकुटी बनोस हरा र भरा
कोही भोक र रोगले जनम भर
मर्नु नपर्ने काम गर !!

आमा हुन धरणी यो मातृ भूमिको
माया र सम्मान गर
आशाका शुभदीप बाली मनमा
सत्कर्म गर्नै गर !!
देशमा सिप र जोश जाँगर झिकी
देशको ढुकुटी भर !
यो आमा सरिको जमिन बुझनु
यसलाई सम्मान गर !!


शोभा काफ्ले खतिवडा
[email protected]