• २०८१ माघ २ बुधबार

मानव–भक्षक

अभिनव अरुण

अभिनव अरुण

तिमीले हाम्रो खेतमा
ठढ्याइदियौ चिम्नीहरू
ओछ्याइदियौ राजमार्गको घुइँचो संसार
खन्याइदियौ विकासको नाममा
मानवताको क्याक्टस
र हामीसँग अपेक्षा गर्छौ हरित- क्रान्तिको ?

तिमीलाई थाहा छैन र राजमार्गमा हुइँकिने बस- ट्रकले
आफूसँगै उडाएर ल्याउँछन् विकासको अन्धो- रेसको धूलो
जहाँ मानिस हलो जोत्नु तुच्छ कार्य सम्झिन्छ
अनि जस्केलाको संस्कृति पलायन हुन्छ
सुइँकै नदिई
सरहतिर उन्मुक्तिको खोजीमा ।

सायद तिमीलाई यो पनि थाहा छैन
मजदुरहरू त्यति वेला मात्र बन्दुक उठाउँछन्
जति वेला उनीहरूको सारा अधिकार खोसिन्छ
र बहिरो हुन्छ राज्य
तिम्रा सपनाले केही दिँदैनन् उनीहरूलाई
उल्टै खोस्छौ तिमी नै-
खेतको अन्न, माटो र स्वभावको गन्ध
अनि बढ्दै जान्छ मानिसको भोक र तृष्णा
अनि ऊ बन्छ मानव- भक्षक ।

कतिवटा संसार उभ्याउँछौ तिमी
यो सानो संसारमा
कतै आयातीत पिज्जाको सोख
कतै नुन- तेलको हाहाकार
कहीँ पाँचतारे स्कुल, कलेज
अनि कहीँ गरिबीले सीमान्तकृत
टोक्री बोकेर
सिँगान बगिरहेको नाक पुछ्दै गरेका
बालकहरूको क्रन्दन
कतै भष्ट्राचारले पहिरो गएको गोरेटो
कहिले देख्छौ तिमी
सय आँखाहरू र
सय चस्माहरू भन्दा धेरै टाढाको
संसार र यसको सत्य
हो, अब सुस्तसुस्तै भए पनि जागृत हुँदैछौँ हामी
त्यसैले तिमी बाँध आफ्नो खोक्रो विकासको कुम्लो
हामी सुदामा होइनौँ
र यो भन्दा कटुसत्य
तिमी कृष्ण पनि होइनौ ।

अनुवाद: रमण घिमिरे