लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सावित्री केशर कथा सम्मान र बाटुली खिलध्वज लघुकथा सम्मानको घोषणा गरेको छ । समाजको आइतबार बसेको बैठकले ‘सावित्री- केशर कथा सम्मान- २०८०’ कथाकार विजय चालिसेलाई र ‘बाटुली- खिलध्वज लघुकथा सम्मान- २०८०’ कथा तथा लघुकथा दुवै विधामा कलम चलाउने सर्जक मञ्जु काँचुलीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
वि. सं. २०७३ सालदेखि प्रदान गर्न थालिएको सावित्री केशर कथा सम्मान सर्व प्रथम परशु प्रधान प्रधानलाई प्रदान गरिएको थियो । त्यसपछि भाउपन्थी, पद्मावती सिंह, सनत रेग्मी, डा. राजेन्द्र विमल, मधुबन पौडेल र वावा न्यौपाने यो सम्मान प्राप्त गरेका छन् । त्यस्तै वि. सं. २०७३ बाटै प्रदान गर्न थालिएको बाटुली–खिलध्वज लघुकथा सम्मान सर्ब प्रथम २०७३ सालमा प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई प्रदान गरिएको थियो । त्यसपछि हिरण्य भोजपुरे, भागिरथी श्रेष्ठ, महेश प्रसाईं, ध्रुव मधिकर्मी, हरि प्रसाद भण्डारी, कल्याण पन्त यो पुरस्कार प्राप्त गरिसकेका छन् । शुरुमा दुबै पुरस्कारको राशी १५ हजार १०० रहेकोमा गत सालदेखि यसको राशी २१ हजार १०० पुर्याइएको छ ।