• २०८१ माघ १० बिहीबार

अनुहार

किशन पौडेल

किशन पौडेल

कुनै दिन प्रिय लाग्थ्यो
मलाई त्यो अनुहार !

आजकल मलाई
सबैभन्दा धेरै घृणा लाग्छ
त्यहीँ मुहार !

बिस्तारै खस्किँदै गयो-
अनुहारबाट शालीनता
व्यवहारबाट कुशलता
हृदयबाट संवेदनशीलता

बिस्तारै भत्किँदै गयो-
आस्थाका धरोहरहरू
विश्वास र भरोसाका पुलहरू
समृद्धिका सपनाहरू !

पखालिँदै गयो
अनुहारबाट कृत्रिम रङ्गहरू
समयसँगै बदलिँदो रूप ।

साँगुरिँदै गए
सम्बन्धका आयामहरू ।
र मेटिँदै गए
स्मृतिका पानाहरू बाट
बालुवामा कुँदेका सुन्दर डोबहरू !


किशन पौडेल
[email protected]