समाचार

बादलका आँखाको डिल पुछेर
आँसुले लेखेका एक झरी अक्षरहरू
नदीको मुटुभरि बग्ने भेलजस्तो वेगवान् याद सँगालेर
आएका छन् तिम्रो जिन्दगीमा वास बस्न
समयको पखेटा भएकी ए मालचरी !
कहिले फर्किन्छ्यौ तिमी
मानसरोवरको नीलिमा जस्तो बिछोडको
गहिराइबाट उडान भरेर
प्रेमको महासागर उर्लिरहने मेरो छातीसम्म
बोल न !
पगालेर आफूभित्र जमेको कडा बरफलाई
स्पर्श गर न !
शब्दका नीरव कोलाहलले
कटकटिएको धूलोजस्तो एकान्त उडिरहने
यो मनलाई बिथोलेर
देऊ न जबाफ
निचोरेर आफ्ना विशाल नयन
फूलहरूको साङ्ग्रिला बनाएर
सुकाइदिऊँला सप्पै पीरहरू
छतको डोरीमा लस्करै
पोखिदेऊ न
हत्केलामा अलिकति चाहनाको प्रिय रङ…
नेत्र एटम
[email protected]