• २०८१ माघ १ मङ्गलबार

पूर्वी नेपालका मौलिक लोकभाकाहरू प्रकाशित

काठमाडौँ/१३ चैत २०७८

शनिबार अनुसन्धाता दिलेन्द्र मुकारुङ राईको ‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ कृति प्रकाशित भएको छ । प्रदेश- १ मा बसोबास गर्ने जातजाति भाषाभाषीको परम्परामा गाइने लोकभाषाको सङ्कलन तथा विश्लेषण गरिएको पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको हो ।

निश्चित भूगोलभित्र बसोबास गर्ने जातजातिको चालचलन, भाषा, संस्कृति, मूल्यमान्यता, मनोरञ्जनकलाको अभिव्यक्ति नै लोकभाका हुन् । प्रतिष्ठान लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले यस कृतिमा राई, लिम्बुू सुनुवार, तामाङ, शेर्पा, लाप्चा, मगर, दमाई, गन्धर्भ, जोगी, खसआर्य आदि विविध जातिसँग सम्बन्धित ६४ वटा मौलिक भाकाहरू रहेको बताए । देवी नेपालकै अनुसार पूर्वी तराईमा पाइने जातजातिसँग सम्बन्धित २८ लोकभाकाहरू र पूर्वी हिमाली क्षेत्रमा पाइने विविध जातजातिको केही लोकभाका समावेश रहेका छन् ।

पुस्तकको पहिलो खण्डमा ‘पूर्वी नेपालको भौगोलिक तथा सामाजिक परिचय’ समेटिएको छ । दोस्रो खण्डमा पूर्वी नेपालका मौलिक लोकभाकाहरू खोज प्रस्तुत गरिएको छ । जसमा लोकगीतको परिचय, प्रतिनिधि लोकभाकाहरू, आदिवासी जनजातिका लोकभाकाहरू, खसआर्य हिन्दु समुदायका लोकभाकाहरू, अरुण उपत्यकामा प्रचलित लोकभाकाहरू तथा प्रतिनिधि लोकगायकहरूको नाम उल्लेख गरिएको छ ।

तेस्रो खण्डमा पूर्वी भेगका लोकभाकाहरूको विश्लेषण गरिएका छन् । यस्तै चौथो खण्डमा पूर्वी नेपालको लोकभाकाहरूको विशेषता केलाइएको छ । मौलिक लोकभाकाहरूको भाषिक तथा सांस्कृतिक महत्व, प्रस्तुति शैली, अवसर, स्थान, बाजा, नाच, शृंगार, रैथाने परिवेशको प्रतिबिम्ब उल्लेख गरिएको छ ।