समाचार

काठमाडौं ।
भक्तपुरको लिवालीमा ४५ वर्षअगाडि लेखिएको एउटा पुस्तक सार्वजनिक गरिएको छ । राजनीतिकजस्तै दर्शन र साहित्यमा समेत सिद्धहस्त साहित्यकार हरिबहादुर श्रेष्ठ (नारायणमान विजुक्छें) द्वारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको लोकार्पण लेखक श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् विश्वमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्तरूपमा पुस्तक विमोचन गर्नुभयो ।
उक्त पुस्तक हरिबहादुर राजनैतिक क्षेत्रमा कार्यरत रहँदा समाजको विकासक्रमबारे अध्ययन, अनुसन्धान, अनुभवको उपज हो, जसले लेखक भारतको प्रवासमा रहँंदा मूर्त रूप पायो । यसमा लेखिएका विषयहरू सैद्धान्तिक र व्यावहारिक ज्ञानका अनुभवहरू छन् । वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो । उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँंदा लेखिएका विषयवस्तुहरुको सङ्कलन पुस्तकमा रहेको जनाइएको छ ।
कार्यक्रममा विजुक्छेंले पुस्तकको पाण्डुलिपि सङ्कलनमा ढिलाइ भएकाले पुस्तकको प्रकाशन ढिलो भएको बताउनुभयो । राजनीतिक आन्दोलनलाई सघाउ पुर्याउन लेखिएका कुराहरू आजका दिनमा पनि उतिकै महत्त्वपूर्ण रहेकोले ढिला भए पनि पुस्तक प्रकाशित गरेको उनको भनाइ थियो । पुस्तकमा समाज विकासका विविध विकासक्रम र किसान आन्दोलनहरू उल्लेख छन् । समाजको उत्पत्ति, विकासक्रम, दासयुगीन समाज, सामन्ती समाज, पुँजीवादी समाजका चरण लगायतका विविध विषयहरू पुस्तकमा समावेश छन् । पुस्तक एक सय ५४ पृष्ठको रहेको छ । पुस्तकको मूल्य तीन सय राखिएको छ । पुस्तकको प्रकाशक संस्था सष्टा समाज रहेको छ ।