• २०७९ चैत १२ आइतबार

तिम्रोपनि हो

दीप्स शाह

दीप्स शाह

हृदयमा बोकेर अनगिन्ती वेदनाहरू
आँखामा टाँसेर अनन्त सपनाहरू
घाउहरू चहर्याउँछन् भन्ने जान्दाजान्दै
उच्चाटले सताउँछन् भन्ने बुझ्दाबुझ्दै
आफैँलाई नचिनेर जिन्दगीको जङ्गलमा भौँतारिरहने
ओ षोडशी !
गाजलको पर्दाले दृष्टिहरू ढाकिनुअघि
नियाल सुन्दर दृश्यहरूलाई आफ्नै आँखाले
यो सप्तरङ्गी सन्सार तिम्रोपनि हो ।

बोकेर मनभरि कतिकति रहरहरू
दबाएर छातीभित्रै उमङ्गका ज्वारभाटा
नहिँडे गन्तव्य कहिल्यै भेटिन्न भन्ने
थाहा पाएरपनि
नलम्किए पाइलाहरू उसै सर्दैनन् भन्ने
बुझेरपनि
स्वीकारेर दासता कुँजो बाँचिरहेकी
ओ सुन्दरी !!
जकडिनुअघि पाउजुका जन्जिरले
तिम्रा बलिया खुट्टाहरू
लम्क अगाडि र नापेर हेर
सिङ्गो ब्रह्माण्डलाई आफ्नै खुट्टाहरूले
यो सृष्टिको विशालता तिम्रोपनि हो ।

सुन्दर छन् तिम्रा आँखाहरू
सत्य छन् तिम्रा आवाजहरू
र छन् निष्कलङ्क तिम्रा भावनाहरू
तर
दबिनुअघि कसैका तारिफका बोझले
तिम्रा बलिया काँधहरू
उचालेर हेर आफैँ आफ्नो जिन्दगीलाई
तिमीमै निहित छ
सिङ्गो धरती उचाल्ने वलिष्ठता,
नखुम्चाऊ आफूलाई कोमलताको उपमामा
ओ षोडशी !!
कुवाभित्र गुन्जिने मखमली आवाजले
तिमीलाई बहिरो बनाउँछ
निस्केर बाहिर सयर गर
जीवनको हर अध्यायहरू
यो एकैबारको अनमोल बँचाइ
तिम्रोपनि हो ।


(शाहचर्चित साहित्यकार हुन् ।)
[email protected]