समाचार
काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरिएको छ । काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका बेला लेखिएको उक्त पुस्तक कार्कीले आफ्ना नातिलाई समर्पित गर्नुभएको छ । पुस्तकले प्रेम, आशा तथा सकारात्मकताको सन्देश प्रवाह गर्ने बताइएको छ ।
चराचुरुंगी र जनावरबीचको अन्तरक्रियामार्फत कथा अघि बढाइएको यस कृतिले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताजस्ता विषयलाई केन्द्रमा राखेको कार्यक्रममा चर्चा गरिएको थियो । कौतुहल र मनोरञ्जनले भरिपूर्ण कथावस्तुका कारण पुस्तक आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै सुशीला कार्कीले अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि पुस्तक बहुमूल्य उपहारका रूपमा आएको बताउनुभयो । १६८ पृष्ठ रहेको ‘मिट्टी एन्ड द वाइल्ड क्याट’को मूल्य ५५६ रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि कार्कीका ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन् । यसबाहेक उहाँ चर्चित कृति ‘लैंगिक समानता’ र ‘महिलावाद’ (नारीवाद) की पनि लेखक हुनुहुन्छ ।
