१
“खोज’’
जिन्दगी !
हरेक शब्दको अर्थ खोज्छ
जिन्दगी
प्रत्येक नाफा-नोक्सानको हिस्सा खोज्छ
पल-पल एक एकअस्थिपन्जरहरूको शास्त्र केलाउँछ
अन्ततः केही नपाएर
आफैँ विलिन हुनुको अर्थ पनि नपाएपछि
बिचरा जिन्दगी
आजकाल
जिउँदो मुर्दाझैँ
जताततै फिँजिन खोज्छ
अर्थ खोज्दै अर्थहरू !
२.
“फैसला’’
यदि
गुलाबले गुराँसको सम्मान गर्दैन भने
गुराँसले पनि गुलाबलाई प्रेम गर्दैन भने
निश्चय नै
गुराँस-गुलाब दुबैले
आजैदेखि समाप्त गर्नुपर्ने छ
आफू-आफू बिचको अहमता
र सुन्दरताको लडाइँ ।।
३
“कट्टी इश्वर’’
बलियो बनाउँछु भन्दै
अझ कमसल बनाइदियौ
सुन्दर बनाउँछु भन्दै
उल्टै कुरूप बनाइदियौ
साच्चै इश्वर !
तिमी आफैँले भत्कायौ
आफैँले ध्वस्त पार्यौ
हाम्रो धार्मिक अस्तित्वले गाँसिएको सम्बन्ध
कट्टी इश्वर ।।।
……………………
त्यसैले सत्य इश्वर
अबदेखि रहने छैन हाम्रो
अनादी देखिको
एउटा पुरानो सम्बन्ध
मान्ने छैनकि कुनै पनि लोक परलोकमा
तिमी अझ कतै छौ भनेर
किनकी
आस्थाको घर भत्काएर आफैँ
तिमी नै अलप भइरहन्छौ भने
टुट्न सक्छ जो कोहिको
तिमी प्रतिको बिस्वास
र उही तिमि प्रतिको महिमागान
त्यसैले आजैबाट
कट्टी इश्वर।।।
४
“अर्थ खोज्दै अर्थहरू’’
यो आकाश किन मौन छ ?
यो धर्ती किन सँधै चुपचाप बस्छ ?
यो नदी किन मै तिर बगिरहन्छ ?
सधै किन मेरा अतितहरू विस्मृत गराइरहन्छ ?
आज जसरी नि उत्तर लैजानु छ मैले
यदि म आजपनि अपुरो फर्के भने
मैले आजै नै तय गर्नु पर्छ
प्रश्नै प्रश्न अर्थ खोज्दै अर्थहरूको खोजिमा
जीवनको उत्तरार्धकालसम्म
अविराम रहिरहने यात्राको ।
५.
“महसुस’’
शायद हुनसक्छ
पाप जति मैले गरेँ
पुण्य जति तिमीले गर्यौ
फरक कतिपनि रहेनछ
जसरी,
मेरो पापको फल
तिम्रो पुण्यको फल
उस्तै मिल्दो छ आजकल
किनकी,
अल्झिरहेका छौँ हामी अक्षर शब्दहरूका बिषयमा
बाँचिरहेका छौँ फरक फरक पाटोमा
बिरोधी बनिरहन्छौ एकअर्काको बाटोमा
साँचिरहन्छौँ आ-आफ्नै अहमता
शायद हुनसक्छ
यो हामी आफूले आफैँलाई पतन गराउने
मार्गको सुरूवात हो ।
असल चरित्र, साँझा बस्ती, खोटाङ
[email protected]