समाचार

चितवन ।
डा.देवीप्रसाद सुवदीको उपन्यास ‘मनु’ले वि.सं. २०७९ सालको कविडाँडा साहित्य समाज आख्यान पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि एक लाख २५ हजार रुपैयाँ रहेको छ । आख्यान अर्थात् कथा र उपन्यासलाई दिइने यो पुरस्कार नेपालकै सर्वाधिक राशिको भएको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले दाबी गरे । समाजले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरेर पुरस्कार विजेताको नाम र कृति घोषणा गरेको हो ।
समाजले गएको असोज ५ मा पुरस्कारका लागि ०७९ सालभित्र प्रकाशित भएका कथा र उपन्यास विधाका १० पुस्तकको नाम सार्वजनिक गरेको थियो । त्यसपछि यी १० मध्येबाट असोज २७ मा पाँच पुस्तकको सूची सार्वजनिक भएको थियो । पाँचभित्र परेका ‘मनु’, ‘आतोओडा’, ‘ऐंठन’, ‘बाआमा’ र ‘सन्तापको धुन’ मध्येबाट पुरस्कार प्राप्त गर्ने कृति चयन गरेको अध्यक्ष क्षेत्रीले बताए । ‘मनु’ ऋग्वैदिक समाजको परिवेश चित्रित सामाजिक सांस्कृतिक उपन्यास हो । ‘सुर र असुर बीचको द्वन्द्व समाप्त भई मानव जातिको विकासको कथा यसमा छ,’ समाजका अध्यक्ष क्षेत्रीले भने ।
मंसिर तेस्रो हप्ता समाजले आयोजना गर्ने कार्यक्रममा पुरस्कार वितरण गर्ने क्षेत्रीले जानकारी दिए । समाजले ०७५ सालदेखि उपन्यास र कथा कृतिका लागि कविडाँडा साहित्य समाज आख्यान पुरस्कार दिँदै आएको छ ।यसअघि महेश थापाको ‘मरिचिका’, श्याम शाहको ‘पथेर’, भुवन ढुंगनाको ‘परित्यक्ता’ र लोकराज भट्टको ‘छाइल’ले यो पुरस्कार पाइसकेका छन् । यसअघि पुरस्कारको राशि ३० हजार रुपैयाँ थियो । नेपाली साहित्यको विकासमा सकारात्मक उर्जा थप्नका लागि पुरस्कार स्थापना गरेर राशि बढाउँदै लगेको समाजका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।